सुर्खेत, ३१ भदौ (जागरण) । सुर्खेत वराहाताल गाउँपालिकाका स्थानीयले स्थानीय सरकारबाट पाउनुपर्ने सुचनाहरुबाट बञ्चित भएको गुनासो गरेका छन् ।
योजना तथा कार्यक्रमहरु टाँठाबाठालाई मात्र हुने गरेको भन्दै स्थानीयले नजिकै सरकार हुँदा पनि आफुहरुलाई जानकारी नदिने गरेको गुनासो गरेका हुन् ।
उनिहरुले सुचना पाउँने हक प्रत्येक नागरिकहरुलाई भएको भन्दै कती योजना काँहा आउछन् ? के योजना आउछन् ? भन्ने नै थाहा नदिइने गरेको बताएका छन् ।
गाउँपालिका वडा नम्बर १ का स्थानीय गोविन्दराज विष्टले आफ्नो घर वडा कार्यालय नजिकै हुँदा समेत योजना तथा कार्यक्रम सम्बन्धी कुनै जानकारी नदिइएको गुनासो गर्नुभयो ।
उहाले गाउँमै सरकार आउँदापनि आफुहरु विकासका योजनाका विषयमा सुचना नपाउनुले आशंका पैदा गरेको बताउनुभयो ।
वडा नम्बर १ कै खगिसरा थापाले विकासका योजनाका विषयमा आफुहरुले कुनै जानकारी पाउन नसकेको भन्दै सुचना पाउनुपर्ने माग गर्नुभयो ।
अर्का स्थानीय वडा नम्बर २ की कल्पना विकले गत बर्ष आफु उपभोक्ता समितिमा बसेको बताउदै आफुलाई साइन गराउने बाहेक अरु कुनै जानकारी नदिइएको बताउनुभयो ।
उहाले आफु समितिमा बस्दा त सुचनाको बारेमा बेखबर भएको बताउदै अन्य नागरिकहरुले सुचना पाउँने सम्भावना नरहेको बताउनुभयो ।
यता, गाउँ कार्यपालिका सदस्य चित्रा विश्वकर्माले भने गाउँपालिको तर्फबाट सार्बजनिक सुनुवाई गर्ने गरेको भन्दै सञ्चारमाध्यममा समेत सुचना दिने गरेको बताउनुभयो ।
उहाले सुचना माग्न आउने जो कोहीलेपनि सार्बजनिक चासोको विषयमा जानकारी लिन सक्ने बताउनुभयो ।
वराहतालमा लागु भएको साझा आवाज परियोजनाले नागरिकहरुलाई सुचनाकाे हक र मानव अधिकार सम्बन्धि तिनदिने तालिम दिएको छ । तालिमबाट आफ्नो अधिकारबारे थाहा पाएको र आगामी दिनमा सुचना माग्ने सहभागिहरुले बताएका छन् ।