सल्यान, २० वैशाख (जागरण) । सल्यानका महिलाहरुले समान काम गरे पनि आफूहरूमाथि ज्यालामा विभेद भएको गुनासो गरेका छन् । मजदुरीदेखि विकास निर्माणका काममा कम ज्याला पाउँदै आएको उनीहरुले गुनासो गरेका हुन् ।
शारदा नगरपालिका १ की संगीता नेपाली, दीपा विक, रमेश थापा र विमला रोकाले वडा नं. १ र २ जोड्ने सडक निर्माणका क्रममा सँगै काम गरे ।
उनीहरूले गर्ने काम एउटै भए पनि महिला र पुरुषको ज्यालामा फरक थियो । सीपका आधारमा रकम तोक्ने गरेकाले आफूहरूले कम ज्याला पाएको नेपालीले बताउनुभयो ।
उहाँले ठेकदार तथा स्थानीयले ज्यालामा बिभेद गर्दै आएको बताउनुभयो । आफूले धेरै स्थानमा मजदुरी गर्दा समान ज्यालाको कुरा उठाए पनि कसैले मतलव नगरेको रोकाको गुनासो छ ।
महिला अधिकारकर्मी सोभित बस्नेतले आफूहरूले समान ज्यालाबारे आवाज उठाउँदै आएको बताउनुभयो । कुनै काम गर्नुअघि पहिले दररेट तोकिने भएकाले महिलालाई समस्या आएको उहाँको भनाइ छ ।