सल्यान जिल्ला अस्पतालमा दन्त सेवा शुरु

बुद्धि पुन
सल्यान, १ असोज (रेडियो राप्ती) । सल्यान जिल्ला अस्पतालले दन्त सेवा शुरु गरेको छ । लामो समयको प्रयास पछि जिल्ला अस्पतालमा पहिलो पटक दन्त सेवा शुरु गरिएको हो ।
सल्यान जिल्ला अस्पतालमा नै दाँतका बिरामीहरुको उपचार हुन थालेपछि नागरिकहरु खुसी भएका छन् ।
दाँतको उपचारको लागि सुविधा सम्पन्न ‘डेण्टल चियर’ राखिएको छ । अस्पतालको सेवाप्रति विश्वस्त हुँदै बिरामी आउन थालेपछि दन्त सेवा पनि बिस्तार गरिएको हो ।
अहिले दाँत सम्बन्धी समस्या भएका बिरामीले सहजै उपचार पाउन थालेको डेण्टल सर्जन सृजा पोख्रेलले बताउनुभयो ।
अहिले अस्पतालमा दाँत सम्बन्धी समस्या भएका ३÷४ जना बिरामीहरु दैनिक रुपमा आउने गरेको उहाँले बताउनुभयो । दाँत सफा गर्ने, दाँत निकाल्ने जस्ता सेवा प्रदान गर्दै आएको उहाँको भनाई छ ।
अस्पताल स्थापना भएको ३४ वर्षपछि अस्पतालमा विशेषज्ञसहितको दन्त सेवा थालिएको जिल्ला अस्पतालका प्रमुख डा. अर्जुन बुढा मगरले बताउनुभयो ।
२०४२ सालमा स्थापना भएको अस्पतालमा दाँत सम्बन्धी समस्या भएका विरामीहरुलाई ध्यानमा राख्दै दन्त सेवा शुरु गरिएको उहाँको भनाई छ ।
दाँतका बिरामीको अन्य चिकित्सकले सामान्य चेकजाँच गर्दैआएकोमा दन्त विशेषज्ञ मार्फत सेवा थालिएको अस्पतालले जनाएको छ ।
जिल्लामा यस अघि सरकारी अस्पतालमा दन्त सेवा नहुँदा दाँतका बिरामीले चर्को मुल्य तिरेर निजी क्लिनिक मार्फत सेवा लिने गरेका थिए । जिल्लाका नागरिकहरुलाई छिटो छरितो र भरपर्दो सेवा दिन दन्त सेवा सुरु गरिएको उहाँको भनाई छ ।