कर्णाली प्रदेशमा यसरी मनाइयो संविधान दिवस

सुर्खेत, ३ असोज (जागरण) । २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको थियो । संविधान जारी भएको सम्झनामा कर्णाली प्रदेशमा विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगर खुल्लामञ्चमा आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही र विपक्षी दलका नेता जीवनबहादुर शाही सहभागी भए ।
कार्यक्रममा प्रदेशका मन्त्री, प्रदेशसभा सदस्यहरु, निजामती सेवामा कार्यरत कर्मचारीहरु, नेपाल आर्मी, नेपाल प्रहरी, पत्रकार लगायत सहभागि भएर हर्षउल्लासका साथ दिवस मनाइएको हो ।
दिवसका अवसरमा विभिन्न जातजातीका मौलिक संस्कृतीहरु प्रदर्शन गरिएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ अवसरमा मुल समारोह समिति गठन यसअघि नै गरिएको थियो ।
बिहान ७ बजेदेखि समितिको आयोजनामा राजधानी मंगलगढीचौकबाट प्रभातफेरी र विभिन्न झांकीसहित खुल्ला मञ्चमा सभामा परिणत भएको थियो ।
सुर्खेत तथा समारोहका लागि उपस्थित सरकारी पदाधिकारी तथा सर्वसाधारणको समुहमा नेपाल प्रहरी व्याण्डवाजा, पंचेवाजा, स्थानीय थारु तथा लोपोन्मुख राउटे समुदायको झाँकी लगायतका सांस्कृतीक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

दिवसको अवसरमा सभालाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान कार्यान्वयन र समृद्धिको जनचाहना पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
उहाले संविधान प्रदत्त जनाधिकार पूरा गर्दै समृद्ध कर्णाली निर्माणको अभियानमा प्रदेश सरकार दृढताका साथ लागि परेको बताउनुभयो ।
शाहीले सरकार बनेको डेढ वर्षको अवधिमा अत्यावश्यक कानून तर्जुमा, प्रदेश सरकारको संगठन संरचना तर्जुमा एवं आवश्यक कार्यालयहरुको स्थापना, योजना आयोगको गठन, आपतकालीन उद्धार तथा राहत वितरण, सवै नागरिकको विपद दुर्घटना बीमालगायतका कामहरु सरकारले गरेको बताउनुभएको छ ।
प्रशासनिक संरचना, कानून, जनशक्तिको अभाव तथा अनुभवजन्य कमजोरीका बाबजुद पनि छोटो अवधिमै कर्णाली प्रदेश सरकारले विकास र समृद्धिको जग निर्माण गर्न सरकार सफल भएको मुख्यमन्त्री शाहीको भनाई छ ।