सल्यान जिल्ला अस्पतालः दरबन्दी छ, डाक्टर छैनन्

बुद्धि पुन

सल्यान, ५ असोज (रेडियाो राप्ती) । सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको छ । अस्पतालमा उपचारको लागी आउने बिरामीहरुको चाप बढ्दै गएपनि दरबन्दी अनुसारको डाक्टर नहुदाँ समस्या भएको हो ।
आजभोली जिल्ला अस्पतालमा उपचारका लागी दैनिक १ सय ५० देखी दुइसय जना बिरामीहरु आउने गरेका छन् ।
अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । १५ शैयाको जिल्ला अस्पतालले अहिले ३७ शैयामा बिस्तार गरेर सेवा प्रदान गर्दै आएको छ ।
कार्यालय सहयोगी सहित ३२ जनाको दरबन्दी भएको जिल्ला अस्पतालमा अहिले १४ जना मात्रै कार्यरत रहेको कार्यालय प्रमुख डाक्टर अर्जुन बुढा मगरले बताउनुभयो ।
उहाँले बिगतका दिनमा अस्पतालमा दरबन्दी अनुसारको कर्मचारी भएपनि समायोजन भएर जाँदा समस्या भएको बताउनुभएको छ ।
यस्तै, रोजगारीका लागि भारत भएका एक नेपालीको डेंगुको संक्रमणका कारण मृत्यु भएको छ । सल्यान बनगाड कुपिन्डे नगरपालिका ७ सिम्तिगैराका २१ वर्षीय नोखिराम नेपालीको भारतको राजकोटमा मृत्यु भएको हो ।
पाँच महिनाअघि रोजगारीका लागि भारतको राजकोट पुगेको नेपालीको राजकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आफन्त खुम बहादुर सार्कीले बताउनुभएको छ ।
दुई सातायता बिरामी भई राजकोट अस्पतालमा उपचार गराइरहेका नेपालीको शुक्रबार राति मृत्यु भएको उहाँले बताउनुभयो ।
नेपालीको शवलाई करक संकलन गरेर घर ल्याउने तयारी भइरहेको आफन्तले बताएका छन् ।