तीन लाख भन्दा धेरै बालिका विद्यालय भर्ना

सुर्खेत, ६ असोज (जागरण) । कर्णाली प्रदेशमा तीन लाख १६ हजार ५८ बालिका विद्यालय भर्ना भएका छन् । प्रदेशमा ८२ हजार तीन सय ९१ दलित बालिका विद्यालय भर्ना भएको शिक्षा निर्देशनालयले जनाएको छ ।
कर्णाली प्रदेशका तीन लाख १६ हजार ५८ जना बालिका विद्यालय भर्ना भएका छन् । जसमा ८२ हजार तीन सय ९१ दलित बालिका विद्यालय भर्ना भएको शिक्षा निर्देशनालयका प्रवक्ता बलवीर सुनारले बताउनुभयो ।
उहाँका अनुसार ४० हजार तीन सय ९७ जना जनजाति बालिका मात्र विद्यालयको पहुँचमा छन् ।
हालसम्म शिक्षासँग सम्बन्धित संघसंस्था र सरकारले विद्यालयमा पहुँच बढाउन विभिन्न अभियान थालेको भए पनि विद्यालय जाने उमेरका सबै बालिका विद्यालय जान पाएका छैनन् ।
छोरासरह छोरीलाई पनि शिक्षा दिनुपर्छ भन्ने अभिभावकमा चेतना नहुँदा छोरी विद्यालयभन्दा घाँसदाउरा गर्न बाध्य छन् । यसले कर्णालीको शिक्षालाई अझ पछाडि धकेलेको छ ।
छोरासरह छोरीलाई मान्यता नदिनु, धार्मिक मान्यता, गरिबी, घरपरिवारले छोरीलाई महत्व नदिने पुरानो धारणा र अभिभावकको चेतना स्तरले पनि अझै कर्णालीका छोरीहरु विद्यालय जान नसकेको शिक्षा निर्देशनालयले जनाएको छ ।