यसअघि धितोपत्रका विषयमा धेरै ध्यान नदिने र ध्यान दिए पनि लगानीका लागि लालायित नहुने नागरिकहरु पछिल्लो समय चासो राख्न थालेका हुन् ।
यसअघि धितोपत्रका विषयमा ज्ञान नभएका सिद्धार्थ वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष आशुराम सोमैले अव भने आफू अव ढुक्कले धितोपत्रमा लगानी गर्ने बताउनुभयो ।
पहिला रकम डुव्छ कि भन्ने डरले आफू हिच्किचाउने गरे बताउँदै सोमैले अव भने धितोपत्रका विषयमा स्पष्ट भएको बताउनुभयो ।
सुर्खेतमा खासै चर्चामा नरहेको धितोपत्र लगानीका विषयमा हिजोआज भने दैनिक रुपमा तालिम सञ्चालन भइरहेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित प्रोफेसनल स्किल डेभलप्मेन्ट प्राइभेट लिमिटेड (पिएसडि) ले तीन दिनको अवधिमा तीन वटा समूलाई धितोपत्र लगानीका विषयमा अभिमुखिकरण गरिसकेको छ । यसअघि धितोपत्रका विषयमा यस्ता अभिमुखिकरण हुने गरेको थिएन ।
अभिमुखिकरणमा ठूला ठूला आयोजना, वैँक तथा वित्तीय संस्थाले वितरण गर्ने धितोपत्र, धितोपत्रमा गरिएको लगानी, त्यसबाट आउने मुनाफालगायत आधारभूत विषयमा जानकारी गराउने गरिएको छ ।
अभिमुखिकरणमा सुर्खेतका धेरै व्यवसायी, विभीन्न संघसंस्था तथा कार्यालयमा कार्यरत प्रतिनिधि सहभागि हुने गरेका अभिमुखिकरणका प्रशिक्षक युवराज पौडेलले जानकारी दिनुभयो ।
पिएसडिका प्रवन्ध निर्देशक प्रेमकुमार विसीकाअनुसार धेरै संस्था र व्यवसायीहरुले अझै पनि धितोपत्रका विषयमा अभिमुखिकरण राखिदिन माग गरिरहेका छन् ।