बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि छानबिन समिति गठन

सुर्खेत, ७ असोज (जागरण) । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।
यही असोज ३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले डाक्टर भीमबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताउनुभयो ।
आर्थिक वर्ष २०७५÷७६ को बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनका सम्बन्धमा विभिन्न क्षेत्रबाट आएका गुनासा र प्रदेशसभामासमेत भएको छलफलका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको उहाँले बताउनुभयो । ‘समितिलाई एक महीनाभित्र प्रतिवेदन बुझाउने समय दिइएको प्रवक्ता केसीले बताउनुभयो ।
त्यस्तै बैठकले कर्णाली प्रदेश विनियोजन ऐन, २०७६ को दफा ९ बमोजिम बजेट सहजका लागि आदेश जारी गर्ने निर्णय गरेको उहाँले बताउनुभएको छ ।