गरिबी घटनाउन उद्यमी निर्माण गर्ने योजनामा कर्णाली सरकार (अडियोसहित)

पंख बहादुर शाही
सुर्खेत, ८ असोज (जागरण) । कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले गरिबी घटनाउन उद्यमी निर्माण गर्ने योजना बनाएको छ ।
कर्णालीमा रहेको प्रसस्त श्रोत साधनलाई प्रयोग गरी उद्यमशिलतामा युवाहरुलाई आकर्षित गरिनेगरी योजना बनाइएको हो ।
गरिबी निवारण तथा रोजगार सृजनाको लागि लघु उद्यम विकास मोडल सम्बन्धी प्रादेशीक अभिमुखिकरण गोष्ठि कार्यक्रममा बोल्दै मन्त्री नन्दसिंह बुढाले स्रोत साधनको उचित प्रयोग गरी गरिबी घटाउन मन्त्रालय लागेको बताउनुभएको छ ।
श्रोत साधनमा कर्णाली निकै धनी रहेको भन्दै उहाले यसको उचित प्रयोग गरी रोजगारीका अवसर प्रसस्त रुपमा सृजना गरिने बताउनुभयो ।
मन्त्री बुढाले यसको लागि उद्योग स्थापनामा सरकार लागि रहेको भन्दै वेरोजगार युवाहरुलाई उद्यमको माध्यमबाट स्वरोगार बनाइने बताउनुभयो ।

उहाले गत बर्ष उद्यमीहरुले उत्पादन गरेका सामग्री बिक्रिको लागि सौगात घरको निर्माणका लागि बजेट छुट्याएको भएपनि बजेट कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

भौगोलिक विकटता र पूर्वाधार विकासको ढिला विकासका कारण कर्णाली प्रदेश पछाडी परेको भन्दै अब नयाँ ढङ्गले योजना बनाउन लागिएको प्रदेश योजना आयोगमा उपाध्यक्ष पुण्यप्रसाद रेग्मीले बताउनुभयो ।
उहाले गरिबी न्युनीकरणका लागि महत्वपुर्ण कार्ययोजनासहित योजना आयोग लागेको उहाको भनाई छ । अहिले कर्णालीमा ५१.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको छ ।
कार्यक्रममा बोल्दै सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले सोचेर मात्र उद्यमी निर्माण गर्न नसकिने भन्दै काम गर्नुपर्ने बताउनुभयो ।
जिल्ला लघुउद्यमी समुह संघ दैलेखका प्रमुख कविराज खत्रिले अहिले जिल्लामा ३३ सय व्यक्ती उद्यमी बन्न सफल भएको भन्दै उद्यमले नै आर्थिक विकासलाई अगाडी बढाउने बताउनुभयो ।
यस्तै विभिन्न जिल्लाबाट सहभागीहरुले लघु उद्यमका क्षेत्रमा सरकारले लगानी बढाउन आवश्यक रहेको भन्दै वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।