सल्यान जिल्ला अस्पताल प्रबिधिमैत्री बन्दै

सल्यान, ८ असोज (रेडियो राप्ती) । सल्यान जिल्ला अस्पताल प्रबिधिमैत्री बन्दै गएको छ । नेपाल कै पहिलो अस्पतालको रुपमा सल्यान जिल्ला अस्पतालमा नयाँ प्रबिधि जडान गरिएको हो ।
निक साइमन्स इन्स्टिच्यूटको सहयोगमा जिल्ला अस्पतालमा हुने कागजको प्रयोग घटाउदै प्रबिधियुक्त बनाउन थालिएको हो ।
करिब १ करोड रुपैँया बढीको लागतमा जिल्ला अस्पतालमा बिभिन्न प्रबिधि जडान गरिएको छ । स्वास्थ्य तथ्याङ्क गुणस्तरीय बनाउन, स्वास्थ्य संस्थामा बिरामी प्रवेश गरे देखि उपचार हुँदा र बाहिरिँदा सम्मको अवस्थालाई सफ्टवेयरको सहयोगमा सुरक्षित राख्न र बिरामीको सुरुवाती अवस्थादेखि उपचारसम्मको प्रक्रियालाई जस्ताको त्यस्तै इन्ट्री गर्न इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीको सुरुवात गरिएको हो ।
आज निक साइमन्स इन्स्टिच्यूटका संस्थापक जिम साईमन्स र मरिलिन साईमन्सले संयुक्त रुपमा ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’ को उद्घाटन गर्नुभएको छ ।
निक साइमन्स इन्स्टिच्यूट नामक एउटा नेपाली संस्था करिब ४० लाख रुपैँया र कोजेक नामक संस्थाको करिब ६० लाखको लागतमा जिल्ला अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्डको शुरुवात गरिएको निक साइमन्स इन्स्टिच्यूट कर्णालीका जर्नादन पाठकले बताउनुभएको छ ।