सुर्खेत, २० वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ स्थित लामीडाँडा स्वास्थ्य आमा समूहले आफ्नै पहलमा फिल्टर किनेर शुद्ध पानी पिउन थालेका छन् । पोषण र स्वास्थ्यको सुधारका लागि सुआहारा कार्यक्रमले सुर्खेत जिल्लामा रहेका सवै आमा समूहहरुमा पोषण र सरसफाईको अभिमुखीकरण तथा व्यक्तिगत र सामुहिक रुपमा परामर्श गरेपछि उक्त आमा समूहका सदस्यहरुमा फिल्टरको शुद्ध पानी पिउनु पर्छ भन्ने निर्णयमा पुगेका हुन् ।
जम्मा ४२ घरधुरी रहेको लामीडाँडामा ३ घर दलित र २२ घर जनजाति गरी जम्मा २५ घरधुरीका स्वास्थ्य आमा समूहका सदस्यहरुले सामुहिक रुपमा नयाँ फिल्टर किनेका हुन् । त्यसै गरीआमा समूहका सदस्य वाहेक थप ३ घरले पनि नयाँ फिल्टर किनेका छन् भने अन्य घरधुरीका सदस्यहरुले पहिले नै फिल्टर प्रयोग गरिरहेका थिए ।
उक्त फिल्टर वितरण कार्यक्रममा महिला वडा सदस्य रेनुका आचार्य, स्वास्थ्य चौकी प्रमुख जीवन पौडेल, समाज जागरण केन्द्र (स्याक) नेपालका कोषाध्यक्ष शोभा तिवारी, सुआहारा कार्यक्रमका फिल्ड संयोजक रेशम चन्द, वास अधिकृत राजु चौधरीको समेत उपस्थिति थियो ।
कार्यक्रममा सुआहारा फिल्ड संयोजक रेशम चन्दले सुआहाराले प्रवद्र्धन गरिरहेका व्यवहार परिवर्तनका कुरामा जोड दिनुभयो ।
त्यसै गरी सुआहारा कार्यक्रम संचालन गरिहेको स्थानीय साझेदार संस्था स्याक नेपालका शोभा तिवारीले आमा समूहले गरेको कामको स्वागत गर्दै थप नयाँ कामका लागि आग्रह गर्नुभयो । सुआहारा कार्यक्रमका वास अधिकृत राजु चौधरीले अन्य आमा समूहहरु भन्दा यो आमा समूहका सदस्यहरु अव्वल हुनु पर्नेमा जोड दिए । महिला वडा सदस्य रेनुका आचार्यले आमा समूहको कामप्रति खुशी व्यक्त गर्दै थप नयाँ काममा लाग्न जोड दिनुका साथै महिलाको क्षेत्रमा आफू सवै खालको पहल चाल्न दिनरात लागिपरेको जानकारी दिनुभयो । उक्त कार्यक्रम स्वास्थ्य आमा समूहकी अध्यक्ष श्री रेशमकली ठाडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।