सरकारहरु गठनपछि कर्णालीमा विकासले गति लिन थाल्यो

सुर्खेत, ९ असोज (जागरण) । संघियता कार्यान्वयनसँगै अहिले गाउँ गाउँमा सरकारहरु पुगेका छन् । स्थानीय सरकारहरु गाउँसम्मै पुगेपछि विकास निर्माणका कामले गति लिन थालेको जनप्रतिनिधिले दावी गर्ने गरेका छन् ।
आफै योजना र बजेट बनाउने अधिकार पाएका स्थानीय सरकारहरुले पूर्वाधार विकास क्षेत्रमा बजेट बिनियोजित गर्न थालेपछि केहि परिवर्तन भएको हो ।
हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जैसी धामीले विगतको भन्दा सरकारहरु गठन भएपछि केहि परिवर्तन भएको बताउनुभयो । उहाँले आफ्नो गाउँपालिकामा सडक सञ्जालको अवस्था भने शुन्य रहेको भन्दै यसको लागि गाउँपालिकाले महत्वका साथ योजना बनाएको बताउनुभयो ।
यस्तै, कालिकोट खाँडाचक्र नगरपालिकामा पनि विगतको भन्दा धेरै परिवर्तन भएको जनाइएको छ । नगरप्रमुख जसी प्रसाद पाण्डेले जनतालाई विकासको अनुभुती भएको बताउनुभयो ।
यता, दैलेख चामुण्डाबिन्द्राशैनी नगरपालिका नगर उपप्रमुख तारा कुमारी शाही खत्रीले शिक्षा, स्वास्थ्यमा जनताले गाउँमै सेवा लिन पाएको बताउनुभयो । कर्णालीमा ७९ वटा स्थानीय सरकारहरु छन् । भनेअनुसारको अपेक्षित काम नभएपनि विगतको भन्दा केहि फरक भएको नागरिकहरु बताउछन् ।
विशेषगरी सडक सञ्जालहरुमा सबै गाउँगाउँमा जोडिएका छन् भने स्वास्थ्य क्षेत्रमा पनि केहि परिवर्तन हुन थालेका स्थानीय नागरिकको भनाई छ ।