जिन्दगी राेजाैँ

चन्द्रा खत्री

बाँकेको चिसापानीमा १७ बर्षीया एलिसा शाह आफ्नै घरमा आफ्नै सलको पासो बनाएर झुण्डिईन् । सदाझैं घरभित्र पस्दैगरेका अभिभावकले यो हृदयबिदारक दृष्य हेर्न बाध्य भए । बा आमा निरिह थिए । आफ्ना अधुरा सपना आफ्नै छोराछोरीबाट पूरा गर्नखोज्ने बा अमाका लागि यो भन्दा ठूलो पीडा के नै हुनसक्छ र । अघिसम्म आँखा वरपर देखिएकी छोरी निश्वास बनेर हावामा हल्लिरहेकी छे । मुटु अँठ्याएर पोस्टमार्टम गराए । मुटुमा गाँठो पारेर काजक्रिया गरे । अल्लारे उमेर थियो । बजारका नयाँ नयाँ फेसनमा आँखा जाने उमेर । लाउँलाउँ र खाउँखाउँको बेला । काँधमा ब्यवहार पनि आईसकेको थिएन ।

आखिर किन गर्नुपरेको होला आत्महत्याजस्तो जघन्य अपराध । मर्नुअघि उसले जन्मदिने आमालाई सम्झिनु पथ्र्यो । र्औलामा समाउन लगाएर बाहिरी दुनियाँ देखाउने बुवाको कल्पना गर्नुपथ्यो । त्यसो भएन । दुईतीन मिनेट छटपटाएर स्थिर हुने अत्यन्तै कठोर कदम उठाई उसले । तेह्रौँ पुण्यतिथिसम्म बा आमा सम्हालिन सकेनन् । आखिर ज्यानै फाल्नुपर्ने के त्यस्तो समस्या आईलाग्यो त । मृतक छोरीले चलाउने गरेको मोबाईलको प्याटर्न लक खोलेर हेर्दा जे कुरा सतहमा आयो यसले आफूले टेकेको धर्ती हल्लिएको महसुस भयो । आफैलाई पढाउने शिक्षकका असामान्य म्यासेजहरु थिए । छोरी गुमाएका बा आमाको मनमा चिसो पस्यो । म्यासेजमा शिक्षक लेख्छन् ः “तिमी मेरो बिशेष हौ” “एउटा फोटो त पठाउ” “मलाई माफ गर” “आई मिस यु” म्यासेजको भावले भन्छ मोबाईल सेट,ल्यापटप,ड्ेस इत्यादि शिक्षकले निशुल्क उपलब्ध गराएको थियो । मर्नुअघि आफूलाई अत्यन्तै डर लगिरहेको र” हजुरको नाक काटिनुभन्दा म आफैले संसार छोडिदिन्छु” जस्ता म्यासेजले सो शिक्षक माथि आत्महत्या दुरुत्साहनको अशंका भयो । किटानी जाहेरी गरियो । शिक्षकमाथि गाउँले खनिन सुरु गरे । पुलिस प्रशासनले समाएर थानामा लग्यो । कोरोनामा लामो समय थलिएको एउटा स्कुललाई खुल्न नपाउँदै बदनाम ओढाउने काम भएको छ । आरोपित शिक्षक माथिको अभियोग प्रमाणित होला नहोला त्यो भोलिको कुरा हो । मेरो बाल मनोज्ञिनमा अनेकानेक तर्कनाहरु दगुरिरहेका छन् । जसलाई यी अक्षरहरुमार्फत अभिब्यक्त गर्ने प्रयास गरेकी छु ।

एउटा अपराधको कारण राम्ररी पत्ता लगाईयो भने यसले अर्को अपराधलाई निस्तेज पार्न सहयोग गर्छ । आफू छात्रा भएको हिसाबले भावुक बन्नु अलग कुरा हो । दोषीलाई कारवाही होस र निर्दोषमान्छे नफसोस भन्नेकुरा पनि हो । हामी केटीहरुलाई सानैदेखि चुप लाग्न मात्रै सिकाइयो । यो गर, त्यो नगर ,यस्तो बोल, त्यस्तो नबोल । यता जा, उता नजा । यो उनीहरुको सुरक्षाका लागि भनिएको भएपनि यसले कालान्तरमा आफूमाथिका दुब्र्यवहारका बिरुद्ध प्रतिवाद गर्न कहिल्यै सिकाएन । हाम्रैै समाजमा देख्न सकिन्छ बाह्र तेह्र बर्षका किशोरीहरु अन्तरमुखी भएका,मनका कुरा कतै शेयर नगर्ने ,बरु कोठाभित्र थुनिएर दिनभरी बस्ने स्वभावका हुन्छन् । अभिभावकले उनीहरुका समस्या खोतल्नुको साटो हप्कीदप्की गर्ने, पिट्ने अझ वास्तै नगर्ने गरेको पाईन्छ । मन चिसो हुन्छ । आफूमाथिको समस्यालाई शेयर गर्ने होईन बरु चुप लाग्न सिकाइएको हुनाले उनीहरु आफैलाई दबाउँछन् अनि समस्या भुसको आगो बनेर भित्रभित्रै फैलिन्छ । अभिभावकले बालमैत्री ब्यवहार गर्ने, छलफल गर्ने, वातावरण नै बनाईन्न । र उनीहरु खुला हुन सक्दैनन् । मनोबल बढ्नुको साटो ती साना किशोरीहरु संबेगात्मक रुपमा कमजोर बन्छन् । सबै सबै अभिभावकले यो खालको प्रयास थाल्ने हो भने बच्चाहरुले अप्ठयारा अवस्थाबाट गुुज्रिनु पर्दैन । डिप्रेस्ड हुनुपर्ने थिएन । आजभोलिका किशोर किशोरीमा ज्ञानको कमी कत्तिपनि छैन । राम्रो नराम्रो नबुझेका बुझिहाल्छन् । म्यासेजमा लगाईने कमा,डट्डट् अनेक इमोजी र रियाक्सन उनीहरुलाई थाहा हुन्छ । कसैले नराम्रा म्यासेज पठाएको पनि थाहा हुन्छ । तर तिनीहरु केही प्रतिक्रिया दिईरहेका हुन्नन् । कसैसँग शेयरिंगको वातावरण बनिरहेको हुन्न फलस्वरुप ती कुराहरु उसले अफैभित्र राख्छ । अर्को पक्षको हमला बढ्छ । या उसले मौनतालाई स्वीकृतिको रुपमा लिन्छ । स्कूल या कलेज लाईफमा पनि यदि कसैले गलत ब्यवहार देखायो र त्यसको प्रतिकार गर्ने आँट देखाइयो भने त्यो मान्छेले दोस्रोपटक त्यो ब्यवहार गर्ने हिम्म कमै गर्छ । हामी किशोरी यस्तै कुरामा आफै गल्ती गर्छौं आफै शिकार बन्छौैं । अनि आफ्नो ज्यान आफैले फाल्ने सम्मको पाप गर्न पुग्छौं ।

मर्नुअघि आमाले दस महिना कोखमा राखेको ,प्रशव पीडा सहेर जन्माएको , कैयौं रात अनिदो बसेर हामीलाई भोक रोगबाट छुटकारा दिलाएको किन भुल्छौं ? बुवाको औंला समाएर दुनियाँ हेरेको किन भुल्छौं । आफ्ना अधुरा सपना हामीबाटै पूरा गर्न खोजेको किन भुुल्छौं । के यो जिन्दगी बारबार प्राप्त हुन्छ र ??? धेरै छन् प्रश्नहरु । जसको जवाफ आफूलाई बिनाकाम सिध्याउने र कलंको मार्गमा हिँडने सन्ततीले दिने कुरै भएन । दुब्र्यवहार के हो भन्ने कुरा हामीलाई चार पाँच कक्षाबाटै सिकाइएको हो । म स्वयम् पनि अन्तरबिद्यालय कार्यक्रममा सहभागी हुन धेरै ठाउँ पुगेकाेछु । धेरैजसो समय शिक्षकसंगै छु । असल ब्यवहार के हो र दुर्व्यवहार के हो भन्ने कुरा मैले नै हो बुझ्ने र प्रतिकार गर्ने । मलाई कसैले त्यस्तो गर्दा त्यसको तत्कालै बिरोध गर्ने क्षमता हुनुको साटो आफैभित्र गुम्स्याएर राख्दिन । कसैलाई पनि त्यस्तो गर्ने अवसरनै दिने दिन्न । सबै किशोरी एउटै हुन्नन् । शिक्षकलाई जिस्क्याएर र्याक गर्नेहरुपनि हुन्छन् । एकदुई शिक्षक गलत हुनसक्छन् समग्र गुरुवर्गमा ब्लेम लाग्नुु हुन्न । अझ स्कुल त ज्ञानको मन्दिर हो । फलानो स्कुलको भनेर बदनाम गरिनु झनै ठूलो अपराध हो । समस्याहरु आउँछन् । आफै अग्रसर भएर धपाउन सक्नुपर्छ । यसको लागि किशोर किशोरी खुल्नु आवश्यक छ । नारी पुरुष बरावर पनि भन्ने अनि हेपिने चेपिने अनि मृत्युकै मुखमा पुग्ने । यस्तो हुनुहुन्न । यदि आफ्नै गुरुबाट असुरक्षा महसुस हुनथाल्यो भने अवश्य कम्प्लेन् गारौं ।