काँग्रेस र माओवादीले २-२ नेकपा एसले ३ मन्त्रालय पाउछ: मुख्यमन्त्री शाही (भिडियाेसहित)

जागरण
सुर्खेत, २५ कात्तिक ।
कर्णालीको मुख्यमन्त्रिमा जीवनबहादुर शाही नियुक्त भएको दश दिन वितिसक्दा पनि मन्त्रिपरिषद् विस्तारको कुनै सुरसार देखिएको छैन । शाहीले अहिलेसम्म मुख्यमन्त्रीसहित प्रदेश सरकार अन्य सात मन्त्रालय एक्लै सम्हालिरहेका छन् । तर मन्त्री बाँडफाँडका विषयमा गठबन्धनका दलहरुबीच कुनै पनि औपचारिक छलफल भएको छैन ।
नेपाली काँग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता शाहीले गत कात्तिक १६ गते मुख्यमन्त्रीको सपथ ग्रहण गरेका थिए । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । तर गठबन्धनमा कुन दलले कती मन्त्रालय पाउने भन्ने भागबण्डा नमिल्दा शाहीले एक्लै सरकार चलाइरहेका छन् ।
गठबन्धनमा सबै भन्दा ठूलो दल माओवादी केन्द्रले चार, समाजवादीले ३ र काँग्रेसले मुख्यमन्त्रीसहित अन्य दुई मन्त्रालय पाउनुपर्ने आ–आफ्नै दाबि छन् । दाबि गरे अनुसार मुख्यमन्त्रीसहित दश मन्त्रालय आवश्यक पर्दथ्यो तर मन्त्रालयको संख्या भने मुख्यमन्त्रीसहित आठ मात्र छ । जसले गर्दा गठबन्धनमा मन्त्रालय भागबण्डाको विषय पेचिलो बनेको छ । मुख्यमन्त्री शाहीले भने केही दिनमै मन्त्री परिषद विस्तार हुने दाबि गरेका छन् ।