मह उत्पादनमा ह्रास आउन थाले पछी मौरी पालक किसान चिन्तित

फागुन १२, सुर्खेत । केही वर्षयता देशभरमै मह उत्पादन घटेको छ । मह उत्पादनमा कमि आउन थालेपछि मौरी पालक कृषक किसान चिन्तित बनेका छन् ।
सुर्खेतमा आज देखि सुरु भएको नेपाल मौरीपालक महासंघको २३ औं राष्ट्रिय भेलामामा सहभागी कृषकहरुले मौरीपालन पेशामा विभिन्न चुनौति आएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
नेपाल मौरीपालक महासंघका अनुसार गत दुई आर्थिक वर्षदेखि मह उत्पादनमा ह्रास आएको छ । नेपालमा अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा ४ हजार मेट्रिक टन भन्दा धेरै मह उत्पादन भएकोमा गत आर्थिक वर्षमा घटेर ३५ सय मेट्रिक टन मात्र मह उत्पादन भएको महासङ्घको तथ्याङ्क छ । गत वर्षको १३ सय मह र यस वर्षको १९ सय मेट्रिक टन मह बिक्रि हुन बाकी रहेको महासंघले जनाएको छ ।
यस्तै मौरी पालक कृषकको संख्या पनि घटेको छ । महासंघका अनुसार १६ हजार ५ सय मौरीपालक कृषकको संख्या घटेर १३ हजार ८ सयमा झरेको छ ।
मौरीपालक महासंघका अध्यक्ष शुभाषचन्द्र घिमिरेले चरन क्षेत्र मासिने, बालीमा विषादीको प्रयोग, प्रतिकूल मौसम र उत्पादित महले बजार नपाउदा मह उत्पादन ह्वात्तै घटेको बताउनुभयो । अध्यक्ष घिमिरले स्वदेशमा उत्पादित मह प्रबद्र्धनका लागि सरकारले बाहिरबाट आयात गरिने महमा भन्सार कर बृद्धी गर्नुपर्ने बताउनुभयो ।
मौरी पालनका हिसाबले संभावना बोकेको कर्णाली प्रदेशमा पनि त्यति मात्रामा मह उत्पादन हुन सकेको छैन् । कर्णाली प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले कर्णाली प्रदेश सरकारले मौरी पालक किसानहरुका लागि आउने आर्थिक वर्षमा विशेष कार्यक्रम ल्याएर अगाडि बढ्ने बताउनुभयो ।
नेपाल मौरीपालक महासंघले नेपालमा व्यावसायिक मौरीपालनका लागि प्रसस्त सम्भावनाहरु रहेको भन्दै सरकारले मौरीपालनको प्रवद्र्धन, बजार अनूगमन, ढुवानी अनूदान व्यवस्था, प्रचारप्रसार र चरन व्यवस्थापनका लागि सचेतना कार्यक्रम संचालन, अवैध रूपमा विदेशबाट आउने महलाई रोक्न सके अझै किसानलाई राहत हुने जनाएको छ ।
नेपालमा दुई बर्षमाको तीन हजार देखि चार हजार मेट्रिक टन मह उत्पादन हुने गरेको छ । जुन नेपालको माग भन्दा कम हो । नेपालको माग पूरा गर्न ६ हजारदेखि सात हजार मेट्रिक टन मह आवश्यक रहेको महासंघले जनाएको छ । “आत्मर्निभर मौरी व्यवसायी सक्षम सुढृढ महासंघ, नेपाली मौरीजन्य उपजको संसार भर पहिचान” भन्ने नाराका साथ सञ्चालन भएको साधारण सभा दुई दिन सम्म चल्ने छ ।