अंग्रेजी सुधारका लागि शिक्षकहरुलाई तालिम


सुर्खेत, १४ चैत ।
सुर्खेतको चिंगाड गाउँपालिका वडा नं. ४ मा अध्यापनरत शिक्षकहरुलाई अंग्रेजी शिक्षण सुधारका लागि तालिम दिइएको छ ।
चिंगाड गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोग तथा गुड अप्सन नेपालको आयोजनामा चैत ७ गतेदेखि सुरु गरिएको ‘इङ्गलिस स्किलअप’ तालिम मंगलबार सम्पन्न भएको हो । वडाको शैक्षिक सुधारमा सहयोग पु¥याउने हेतुले शिक्षकहरुका लागि तालिम आयोजना गरिएको वडा अध्यक्ष टेकबहादुर रानाले बताउनुभयो । ‘अहिलेको जमानामा अंग्रेजी राम्रो हुनुपर्ने बाध्यताजस्तै छ’ समापन कार्यक्रममा बोल्दै अध्यक्ष रानाले भन्नुभयो,‘शिक्षकहरु मार्फत विद्यार्थीको अंग्रेजी सुधार गर्नका लागि तालिमको आयोजना गरिएको हो ।’ अध्यक्ष रानाले वडा भित्रका केही विद्यालयमा अंग्रेजी माध्यमबाट पनि पठन पाठन सुरु गर्ने योजना रहेको पनि बताउनुभयो । समापन कार्यक्रममा आफ्नो भनाई राख्दै गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तुलसी के.सी.ले तालिमबाट शिक्षण सिकाईमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । शिक्षामा सुधारका लागि शिक्षकहरुको रिफ्रेसर तालिमहरुको आवश्यक हुने बताउँदै शाखा प्रमुख के.सी.ले वडा नं. ४ मा सञ्चालन गरिएको तालिमको प्रभावकारिता हेरी अन्य वडामा पनि सञ्चालन गरिने बताउनुभयो । शैक्षिक सुधारका वडाले पनि योजना कार्यक्रम बनाउनु सराहनीय कार्य भएको भन्दै वडा नं. ४ जस्तै अन्य वडाले पनि शिक्षाका लागि बजेट विनियोजन गर्नुपर्नेमा शाखा प्रमुख के.सी.को भनाई छ ।


तालिमका सहभागीहरुको प्रतिनिधित्वगरी भनाई राख्दै शिक्षक लोकेन्द्र चन्दले वडाले सञ्चालन गरेको स्किलअप तालिम पुर्नताजकीका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले वडा र गाउँपालिकाबाट थप सहयोग भए आफू कार्यरत विद्यालयमा आउदो शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै शिक्षक महिमा जि.सी.ले तालिमले आफूहरुलाई अंग्रेजी अध्यापनमा थप हौसला बढेको बताउनुभयो । तालिमबाट अंग्रेजी अध्यापनका लागि सैद्धान्तिक र व्यवहारिक ज्ञान थपिएको जि.सी.ले भनाई थियो । तालिममा वडा नं. ४ का विद्यालयमा बाल विकास देखि कक्षा ८ सम्म अध्यापनरत ३६ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।