इलाम र बझाङमा आज उपनिर्वाचन

वैशाख १४, इलाम÷बझाङ । इलाम क्षेत्र नम्बर २ मा आज प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । ४२ वडा रहेको निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८ सय ७९ मतदाता छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।
आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्भयका साथ मतदानमा भाग लिन निर्वाचन आयोगले अपिल गरेको छ । निर्वाचनका लागि ७९ मतदानस्थल तोकिएका छन् । यी मतदान स्थलमा १४९ मतदान केन्द्रमा मतदान गराउने तयारी भएको छ । निर्वाचनका लागि ७४५ कर्मचारी निर्वाचनमा खटाइएको छ ।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार निर्वाचन सम्पन्न गरेको दुई दिनभित्र मत परिणाम घोषणा गर्ने तयारी गरिएको छ । वैशाख १५ गते इलाम जिल्लाभर सार्वजनिक यातायात नचल्ने गरी सर्वदलीय बैठकले निर्णय गरेको छ । सबै केन्द्रमा निर्वाचनको व्यवस्थापन महिला कर्मचारीले गर्ने भएका छन् ।
त्यस्तै, बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा पनि आज चुनाव हुँदैछ । ९३ मतदान केन्द्रका लागि ४ सय ६५ कर्मचारी परिचालन गरिएका छन् । सबै मतदान केन्द्रका कर्मचारी निर्वाचन सामग्रीसहित मतदानस्थलमा पुगिसकेका र मतदानका तयारीमा सकिएको छ । वैशाख १३ गते नै मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीहरू मतदान केन्द्र पुगिसकेका थिए ।
निर्वाचन क्षेत्रभरि १२ सय जना सुरक्षाकर्मी परिचालन गरिएका छन् । उपनिर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिनेछन् । उपनिर्वाचनलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन क्षेत्रभित्र रहेका मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ ।
७४ मतदानस्थलमा रहेका ९३ मतदान केन्द्रमा ३१ हजार ५ सय ४९ पुरुष र ३० हजार १ सय ९९ महिला गरी कुल ६१ हजार ७ सय ४८ मतदाताले मतदान गर्नेछन् । जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत मानबहादुर धामीले निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुने बताए ।
बझाङमा ठूला साना दलका गरी ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।