एमालेलाई जिताउने वीरेन्द्रनगरका अगुवा कार्यकर्ताको संकल्प


जागरण
सुर्खेत, १२ फागुन ।

नेकपा (एमाले) वीरेन्द्रनगरका अगुवा नेता तथा कार्यकर्ताहरुले आगामी निर्वाचनमा एमालेलाई विजयी गराउने संकल्प गरेका छन् ।
एमाले वीरेन्द्रनगर नगर कमिटीले विहीबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागीहरुले यस्तो प्रतिबद्धता गरेका हुन् । नगर कमिटी अध्यक्ष निलकण्ठ खनालको अध्यक्षता तथा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली इन्चार्ज यामलाल कडेलको प्रमुख आतिथ्यतामा भेला गरिएको हो । आन्तरिक भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य कंडेलले स्थानीय तहको निर्वाचन केन्द्रीत भएर एमालेको पक्षमा जनमत बनाउन निर्देशन गरेको एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिनुभयो ।
सो भेला तथा प्रशिक्षणमा एमाले केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला सह–इन्चार्ज मोहनमाया ढकाल, केन्द्रीय सल्लाहकार परिषद् सदस्य बालाराम शर्मा र जिल्ला अध्यक्ष अमृतबहादुर बिसीले प्रशिक्षणमूलक मन्तव्य दिनुभएको थियो । झन्डै दुई सय अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको भेलामा आउँदो स्थानीय तहको निर्वाचनमा एमालेलाई बिजयी बनाउने संकल्प र प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको नगर कमिटीले जनाएको छ । नगर कमिटीले यसअघि १६ वटै वडामा बैठक तथा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिसकेको छ ।