स्थानीय निर्वाचन नजिकिएसँगै निर्वाचनको माहोल तात्तियो, सबै जिल्लामा मतपत्र पठाइयो

सुर्खेत, १८ बैशाख (जागरण) । कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा हेलिकोप्टरमार्फत मतपत्र पठाइएको छ । प्रदेशका ३ जिल्ला हुम्ला, डोल्पा र मुगुमा मा हेलिकोप्टरबाट र अन्य जिल्लामा गाडीमार्फत करिब ११ लाख मतपत्र पठाइएको हो । प्रदेश निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म जुम्लामा मात्र मतपत्र पुग्न बाँकी छ ।
अरु सबै जिल्लामा मतपत्र पु¥याइएको छ । जुम्लाबाहेक सबै मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार प्रदेशभरि १० लाख १ हजार २ सय ८२ मतदाता छन् । सबै मतदातालाई पुग्ने मतपत्रमा केही प्रतिशत थपेर मतपत्र पठाइएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसादल चालिसेले बताउनुभयो ।
उहाँले सदरमुकामबाट स्थानीय तहसम्म निर्वाचन कार्यालयले ढुवानीको व्यवस्था मिलाउने बताउनुभयो ।
हुम्ला, डोल्पा र मुगुमा नेपाली सेनाको हेलिकोप्टरमा मतपत्र पुगेको हो । हुम्लाका लागि ३८ हजार मतपत्र सदरमुकाम सिमकोट पुगेको छ ।
निर्वाचनका लागि विभिन्न ३८ प्रकारका सामग्रीसहित मतपत्र सिमकोट पुगेको जिल्ला निर्वाचन अधिकारी मुक्तिनन्द रावलले बताउनुभयो । उहाँका अनुसार २ दिन लगाएर मतपत्र, मतपेटिकासहितको सामग्री सिमकोट पु¥याइएको हो ।
यस्तै, निर्वाचन आयोगले पालिका चुनावका लागि ७६ जिल्लाको मतपत्र छपाइको काम सकेको छ ।
अब ६ वटा महानगर काठमाण्डौ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्जसहित भक्तपुर जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी छ ।
जनक शिक्षा सामग्री केन्द्रले ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सकेको निर्वाचन आयोगले जनाएको छ । मतपत्र ढुवानीको काम धमाधम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
काठमाण्डौबाट लामो दूरीमा मतपत्र पुगिसकेको छ । मनाङ र मुस्ताङमा हेलिकप्टरबाट ढुवानी गरिएको छ । बाँकी अरु ठाउँमा पनि पुर्याउने काम भइरहेको छ ।
आयोगले गएको १३ गतेदेखि मतपत्र ढुवानी सुरु गरेको थियो । पालिका चुनाव आउन अब १३ दिन मात्रै बाँकी छ ।