
पुष ७, जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठूली भैली खेल्न शुरू गरिएको छ । पछिल्लो समय भैली खेल्ने चलन हराउँदै गए पनि त्यहाँका स्थानीयवासीले परम्परा बचाउनकै लागि भैली खेल्न शुरू गरेको तिला गाउँपालिका–१ का स्थानीय शेरबहादुर रावतले बताउनुभयो ।
पुस महिनाको प्रतिपदाका दिनदेखि खेलिने ठूली भैली जुम्लासहित कर्णालीका पाँचै जिल्लामा खेलिन्छ । पहिले मन मिल्ने बूढापाका, बालबालिका, युवकयुवतीका समूह बनाएर चार÷पाँच दिन खेलिने भैलीको महत्त्व विस्तारै घट्न थालेको तिला गाउँपालिका स्थानीय हरिचन्द्र बुढाको भनाइ छ ।
कर्णालीको मौलिक पर्वलाई थप संरक्षण गर्न गाउँका बुढापाका मिलेर अहिले ठूली भैली खेल्न थालेका छन् । भैलीमा सबै साथीसङ्गी मिली नयाँ पहिरनमा सजिएर आफन्तजनका घरघरमा गएर भैलो खेल्ने चलन रहेको तिला–१ का स्थानीय कर्ण रावतले बताउनुभयो ।
१२३औँ शताब्दीतिर जुम्लाका राजा बलिराजको पालादेखि शुरू भएको हिउँदे याममा खेलिने ठूली भैली खेल्ने चलन हराउँदै जान थालेकामा बुढापाका चिन्तित छन् । दशक अघिसम्म हिउँद महिनामा खेलिने भैलोलाई स्थानीयस्तरको महत्त्वपूर्ण पर्वका रुपमा मानिन्थ्यो ।
खासगरी कर्णालीमा पुस महिनामा फुर्सद हुने, सबैले सबै काम सकाएर बसिरहेको बेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन रही आएको छ । औँशीदेखि पञ्चमीसम्म ५ दिन खेलिने भएकाले यसलाई ठूली भैलो भनिन्छ ।
