वैदेशिक रोजगार सुरक्षित बनाउन छत्रेश्वरी गाउँपालिकाद्वारा ८६२ जनालाई अभिमुखिकरण

सल्यान, ११ वैशाख – वैदेशिक रोजगारी सुरक्षित र मर्यादित बनाउने उद्देश्यले छत्रेश्वरी गाउँपालिकाले सञ्चालन गरेको समुदायस्तरीय अभिमुखिकरण कार्यक्रमबाट ८६२ जना लाभान्वित भएका छन्। सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत गाउँपालिकाका सातै वडामा चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिएको थियो। वैदेशिक रोजगारीमा जान चाहने, फर्किएका तथा विदेशमा रहेका व्यक्तिका परिवारजनलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो। गाउँपालिकाका मनोसामाजिक परामर्शदाता कमला शाहीका अनुसार सहभागीहरूलाई विदेश जानुअघि गर्नुपर्ने तयारी, विप्रेषण व्यवस्थापन, भावनात्मक सन्तुलन, परामर्श सेवा तथा स्थानीय वित्तीय सेवा प्रदायकबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा अनुभव आदानप्रदान, सम्भावित जोखिमबारे छलफल तथा सामाजिक–मानसिक समस्यासम्बन्धी परामर्शसमेत दिइएको थियो। गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।