मतदानकै दिनदेखि मतगणना सुरु गर्ने आयोगको तयारी

फागुन १६, सुर्खेत । निर्वाचन आयोगले यस पटक मतदान सम्पन्न भएकै दिन बेलुकादेखि मतगणना सुरु गर्ने तयारी गरेको जनाएको छ । मतदाताले नतिजाका लागि लामो समय प्रतीक्षा गर्न नपरोस् भन्ने उद्देश्यले आयोगले मतपेटिका सङ्कलन प्रक्रिया छिटो बनाउँदै मतगणना तत्काल सुरु गर्ने योजना अघि बढाएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदान सकिएलगत्तै नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित आवश्यक तयारी तीव्र पारिएको छ । उहाँले विगतका निर्वाचनबाट प्राप्त अनुभवका आधारमा यस पटक मतपेटिका सङ्कलनको समय उल्लेख्य रूपमा घटाइने बताउनुभयो ।

आयोगको योजनाअनुसार मतदान सम्पन्न भएकै दिन बेलुकादेखि मतगणना सुरु गर्ने विषयलाई प्राथमिकता दिइएको छ । यसका लागि राजनीतिक दलहरूसँग समन्वय गरी मतदानअघि नै मतगणना स्थल निर्धारण र आवश्यक व्यवस्थापन मिलाइने व्यवस्था गरिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

धेरैजसो निर्वाचन क्षेत्रमा जिल्ला सुरक्षा समितिसँगको सहकार्यमा मतगणना स्थल तोक्ने काम सम्पन्न भइसकेको पनि आयोगले जनाएको छ । यस व्यवस्थाले मतगणना प्रक्रिया छिटो र व्यवस्थित हुने तथा नतिजा समयमै सार्वजनिक गर्न सहयोग पुग्ने आयोगको विश्वास छ ।