जागरण संवाददाता
सुर्खेत, २ फागुन ।
वीरेन्द्रनगर १२ का कृपा बहादुर बुढा क्षेत्री ढाड दुख्ने समस्या भएपछि जचाउनका लागि भारतको लखनउ गए । जाँचपछि ढाडको नसा च्यापिएकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सल्लाह दिए । शल्यक्रियाका लागि एक लाख ५० हजार लाग्ने भयो । त्यतिबेला बुढासंग अस्पतालले भनेजति पैसा थिएन् । पैसाको जोरजाम गर्न घर फिर्किएका उनले शल्याक्रिया नगरेरै निको हुने उपाय खोजी गर्न थाले । त्यसैक्रममा उनले छिमेकीबाट आयुर्वेद औषधी प्रयोग गर्न सल्लाह पाए । छिमेकीको सल्लाहले प्रदेश आयुर्वेद औषधालय सुर्खेतमा पुगेका बुढालाई नियमित ‘स्वेदन कर्म’ (स्टिमवाथ) गरेपछि स्वास्थ्यलाभ भएको छ । ‘यहाँ आएपछि डाक्टरको सल्लाह अनुसार नियमित २५ दिनसम्म सेग्ने काम गरँे’ आइतबार प्रदेश आयुर्वेद औषधालय सुर्खेतमा भेटिएका बुढाले भने,‘पहिले आयुर्वेदप्रति खासै चासो थिएन अहिले आफूलाई परेपछि बल्ल थाहा भयो धेरै राम्रो रहेछ ।’
पछिल्लो समय कर्णालीमा आयुर्वेद चिकित्सा पद्धतीप्रति नागरिकको आकर्षण बढ्दै गएको छ। कर्णालीकै एक मात्र प्रदेश आयुर्वेद औषधालयले चिकित्सकसहितको सेवामा विस्तार गरेपछि नागरिकहरुको आकर्षण बढेको हो । विगत तीन बर्षको सेवाग्राहीको संख्यामा उल्लेखनीय रुपमा बृद्धि हुनुले त्यसको पुष्टि गरेको छ । विगत तीन बर्षमा प्रदेश आयुर्वेद औषधालय सुर्खेतबाट साढे ५२ हजार मानिसले सेवा लिएका छन् । आर्थिक बर्ष २०७५÷०७६ देखि गत आर्थिक बर्ष २०७७÷०७८ सम्म ५२ हजार ४ सय ८३ जनाले सेवा लिएका हुन् । आर्थिक बर्ष २०७५÷०७६ मा २२ हजार ९५ जनाले सेवा लिएकोमा आर्थिक बर्ष २०७६÷०७७ मा २७ हजार ३ सय ५५ र गत आर्थिक बर्ष २०७७÷०७८ मा ३० हजार ४ सय ३६ जनाले सेवा लिएका छन् ।
सुरुमा आयुर्वेद पद्धतीप्रति चासो नदिएका बिरामीहरु एक पटक आइसकेपछि भने विश्वास गरेर निरन्तर आउने गरेका छन् । यस्तै निशुल्क एवं सेवा सहुलियतमा सेवा दिने भएपछि प्रदेश आयुर्वेद औषधालय अहिले कम्जोर आर्थिक स्थिति भएकाहरुको समेत उपचार गर्ने थलो बनेको छ । ढाडको नसा च्यापिने समस्याको दुई पटकसम्म भारतमा शल्यक्रिया गर्दा पनि निको नभएपछि प्रदेश आयुर्वेद औषधालयमा उपचार गराउँदा निको हुँदै गएको दैलेख महाबुका भिमसेन गुरुङले बताए ।
सेवाग्राहीको संख्या बृद्धिभएपछि औषधालय विकास समितिको आम्दानी समेत बृद्धि भएको छ । आर्थिक बर्ष २०७५÷०७६ मा २ लाख ६३ हजार आम्दानी रहेकोमा २०७६÷०७७ मा ११ लाख १९ हजार र गत आर्थिक बर्ष २०७७÷०७८ मा १४ लाख २३ हजार आम्दानी भएको औषधालयले जनाएको छ ।
औषधालयले हाल ओ पी डि, प्रयोगशाला, क्षारसुत्र, पूर्वकर्म ÷पंचकर्म, दैनकि योग ध्यान सेवा दिँदै आएको छ । सेवा विस्तार तथा औषधालयको स्तरउन्नती भएकाले सेवाग्राहीको संख्या बढेको औषधालयका प्रमुख डा.शंकर प्रसाद रिजाल को बुझाइ छ । ‘आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धतीप्रति नागरिकको विश्वास भएपनि उपचार गर्ने प्रार्याप्त संरचना छैनन्’ डा.रिजाल थप्छन्‘प्रदेश आयुर्वेद औषधालयले डाक्टरसहितको सेवा दिन थालेपछि सेवाग्राहीको संख्यामा बृद्धि भएको कुराले पनि यसको पुष्टि गर्छ ।’
सरकारले २३ प्रकारका औषधि निशुल्क वितरण गर्नुपर्ने भनेकोमा औषधालयले ४४ प्रकारका औषधि पनि निशुल्क रुपमा वितरण गर्दै आएको छ । प्रदेश सरकारको सहयोगमा थप २१ प्रकारका औषधि निशुल्क वितरण गरेको हो । त्यस मध्य ९ प्रकारका औषधि औषधालय आफैले उत्पादन गर्दै आएको छ ।
सेवाग्राहीको चाप बढेपनि औषधालयले भने जनशक्ति तथा भौतिक संरचनाको अभावमा अझै चाहेजस्तो सेवा भने दिन नसेको रिजालको भनाइ छ । जडीबुटीमा धनी कर्णाली प्रदेशमा आयुर्वेदका पर्याप्त संभावना छन् । आयुर्वेद चिकित्सा पद्धतीको विकास, अनुन्धान तथा प्रवद्र्धनमा उचित ध्यान दिन सकेको छैन् ।