आज सामान्य बदली, भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा हुने

फागुन १८, काठमाण्डौ । आज देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । तराई, मधेशमा बिहानीपख हल्का हुस्सु लागे पनि क्रमशः हट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज रातिदेखि पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने र त्यसले सुदूरपश्चिम, कर्णाली प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै न्यून चापीय प्रणालीकै कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रको एक दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । भोलि भने यी प्रदेशहरुमा पहाडी भेगमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै लुम्बिनी र गण्डकी प्रदेश तथा तराई र पहाडी क्षेत्रका एक, दुई ठाउँमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको पनि मौसमविद् झाले जानकारी दिनुभयो । मौसम पूर्वानुमान महाशाखाले एक हप्ताको मौसम बुलेटिन सार्वजनिक गर्दै यस अवधिमा पश्चिमी वायुुको सामान्य प्रभाव रहने जनाएको छ ।