दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने

चैत २९, काठमाडौ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा नहुने भएको छ । प्रतियोगिताको तयारीको विषयमा निर्णय गर्न शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठक बोलाइएको थियो । उक्त बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता नहुने बताएका हुन् । सरकारले जेठ ३ देखि १० गतेसम्म प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो । तर, बिहीबार राखेप उपाध्यक्ष धुर्व आचार्यसहित एमालेका बोर्ड सदस्यहरूले खेलकुदमन्त्रीलाई भेटेर प्रतियोगिताको विषयमा ध्यानाकर्षण गराएका थिए ।
सरकारको अहिलेको तयारी र समयले प्रतियोगिता जेठमा तोकिएको समयमा हुने सक्ने सम्भावना नदेखिएको उक्त समूहले जानकारी गराएको थियो । राखेप उपाध्यक्ष र एमाले निकटका बोर्ड सदस्यको ध्यानाकर्षणपछि दशौंको तयारीको सन्दर्भमा निर्णय गर्न शुक्रबार बोर्ड बैठक आह्वान गरिएको थियो । ढिला गरी बसिएको बैठकमा खेलकुदमन्त्री चौधरीले जेठमा नै प्रतियोगिता नहुने बताएका हुन् ।
राष्ट्रिय प्रतियोगिता सञ्चालनसम्बन्धी निर्देशिका मिच्दै खेलकुदमन्त्री चौधरीले दशौंको तयारीको सन्दर्भमा ११ उपसमिति गठन गरिसकेका थिए । उपसमिति गठन गरेर खेलकुदमन्त्रीले तयारी अघि बढाएको जस्तो देखाए पनि प्रतियोगिता आयोजना हुनेमा उपसमितिका संयोजक र सदस्यहरू नै विश्वस्त देखिएका थिएनन् ।
खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेपछि खेलकुदमन्त्री चौधरीले तीनपल्ट प्रतियोगिताको मिति सारिसकेका छन् ।