
सुर्खेत, ३१ बैशाख ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२÷०८३ बजेटमा कर्णालीमा लगाउने भित्र्याउने विषयलाई प्राथमिकता दिने भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाहले बुधबार प्रदेशसभामा पेश गर्नुभएको विनियोजन विद्येयक २०८२ का सिद्धान्त र प्राथमिकतमा कर्णालीलाई नेपाल कै आकर्षक लगानीको केन्द्रका रुपमा विकास गर्ने उल्लेख गरिएको छ । यस्तै प्रदेशमा लगानीयोग्य परियोजना विकास तथा अन्य आवश्यक पूर्वतयारी सहित कर्णाली लगानी सम्मेलनको आयोजना गरिनेछ विद्येयकमा उल्लेख छ । यसअघिदेखि नै लगानी सम्मेलन गर्ने विषय समावेश भएपनि आयोजना भने हुन सकेको छैन । यसका साथै लगानीकर्तालाई प्रदेशमा लगानीका सम्भाव्य क्षेत्रबारे जानकारी प्रदान गरी लगानी निर्णय गर्न सघाउ पु¥याउनका लागि कर्णाली प्रदेश लगानी पोर्टल विकास गरिने कुरा समावेश गरिएको छ।
युवालाई स्टार्टअप फण्ड, मुख्यमन्त्री रोजगार कार्यक्रम परिमार्जन गरिने
विद्येयकमा प्रदेशमा नवीन सोच भएका युवा लक्षित गरी नयाँ उद्यम विकासको वातावरण निर्माण गर्न स्टार्टअप फण्ड र बिजनेस इन्क्युवेसन सेन्टर स्थापना जस्ता कार्यलाई प्राथमिकतामा राखिएकोछ ।
बैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उद्योग व्यावसाय सञ्चालन गर्न प्रोत्सहान गर्ने विषय पनि विद्येयकका सिद्धान्त तथा प्राथमिकतामा छ । वैदेशिक रोजगारीबाट फर्केका युवा जनशक्तिसँग भएको ज्ञान, सीप, अनुभव, पुँजीको अभिलेखीकरण गरी उद्यम व्यवसाय सञ्चालन गर्न आवश्यक सहयोग र सहुलियत दिने जनाइएको छ ।
यस्तै विगतदेखि सञ्चालित मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमलाई परिमार्जन गरिने भएको छ । हाल बाटो घाटो नाला,पदमार्ग निर्माण लगायतका विकास निर्माणका काममा रोजगारी दिने गरिएकोमा अब तालिम तथा सीप विकासका कार्यक्रम सञ्चालन मार्फत रोजगार तथा स्वरोजगारका अवसर सिर्जना गर्न स्थानीयवासीको जीविकोपार्जन र जीवनस्तरमा सुधार हुने गरी पुनर्संरचना गरिने जनाइएको छ ।
उद्योग व्यवसायमा कर्णाली प्रदेश पछाडी रहेकोमा उद्योग स्थापना उद्योग स्थापना सञ्चालन र विस्तार गर्न प्रोत्सहान गर्ने विनियोजन विद्येयकमा उल्लेख छ । प्रदेश सरकारले उद्योग सञ्चालनका लागि भौतिक पूर्वाधार तथा अन्य सहयोग र सहजीकरण गरी सम्भाव्य निजी उद्यमीलाई उद्योग स्थापना, सञ्चालन र विस्तार गर्न आवश्यक प्रोत्साहन र सहुलियतको व्यवस्था गर्ने भएको छ । यस्तै जडीबुटी तथा कृषिजन्य उद्योगको स्थापना र उत्पादित कृषि उपजको मूल्य श्रृङ्खला, बजारीकरण र उपयोगिता विस्तारका लागि शीतभण्डार लगायतका पूर्वाधार निर्माण गर्ने कुरालाई प्राथमिकता दिइएको छ ।
पर्यटन प्रवद्र्धन तर्फ निजी क्षेत्रको अगुवाईमा प्रदेशभित्र बन्जीजम्प, याफ्टिङ्ग, प्याराग्लाइडिङ्ग, अफरोड कार ¥याली, अफरोड वाइक रेस जस्ता साहसिक खेल तथा हनी हन्टिङ्ग, हाइकिङ्ग, ट्रेकिङ्ग, खेलकुद तथा योग पर्यटन लगायतका पर्यटकीय क्रियाकलापलाई टेवा पुयाउन राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गरी यस क्षेत्रको विकासलाई तीव्रता दिने उल्लेख गरिएको छ ।
शिक्षा र स्वास्थ्यमा प्रविधि र पूर्वाधार
शिक्षा तर्फ सामुदायिक विद्यालयलाई डिजिटल प्रविधियुक्त बनाई प्रतिस्पर्धी एवम् दक्ष जनशक्ति उत्पादन गर्न डिजिटल शिक्षालाई प्रवद्र्धन गर्ने कुरालाई प्राथमिकतामा राखिएको छ । स्वास्थ्य तर्फ आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न आवश्यक पर्ने पूर्वाधार विकास, जनशक्ति र उपकरणको व्यवस्थापन गरी स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने उल्लेख गरिएको छ । आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी जस्ता परम्परागत चिकित्सा पद्धतिलाई संस्थागत गर्न सम्बन्धित संस्थाहरूलाई औषधी उत्पादन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने नीति लिइने जनाइएको छ ।
बजेटका सिद्धान्त एवं प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शाहले आगामी आर्थिक बर्षको बजेटले प्रदेशको अर्थतन्त्रलाई उत्पादनशील र चलायमान गराई नागरिकप्रतिको आशा भरोसा जगाउन भूमिका खेल्ने जिकिर गर्नुभएकाे छ ।
