राजनीति वितृष्णाबाट उत्पन्न भएको बिद्रोहको आगो

लेखक : राजन कठायत


भदौ २९,२०८२ । समय कहिल्यै स्थिर रहँदैन । पद, शक्ति र सत्ता दीर्घकालीन रहदैन । तर इमान र प्रतिष्ठा भने सधैं जीवित रहन्छ । जसले पदमा रहँदा जनताको मन जित्छ, उसलाई पद गुमे पनि जनताले आदर गर्छन् । तर जसले राजनीति स्वार्थ, परिवारवाद र पदको चरम दुरुपयोग गर्छ, उसले अन्ततः पद मात्र होइन, प्रतिष्ठा पनि गुमाउँछ । आज नेपालमा यही पीडादायी सत्य राजनीति दल का नेता ले भोगिरहेका छन् ।
जनता निराश र असन्तुष्ट हुनु
नेपालका राजनीतिक दल र नेताहरूको व्यवहारले गर्दा नेपाली जनतामा गहिरो निराशा छाएको छ । दशकौं अगाडि राजनीति जनताको आशा, सपना र मुक्तिको बाटो थियो। तर अहिले राजनीति कुर्सी, सत्ता र लाभको खेल बनेको छ राजनीति । नेताहरू संसद वा सिंहदरबारभित्र मात्रै सीमित रहे, तर गाउँ, का विकट बस्ति का, किसान, मजदुर, विद्यार्थी र युबा का दुःख र पीडामा पुग्न सकेनन् । जनतालाई रोजगारी चाहिएको छ, किसानलाई आफ्नो पसिनाको उचित मूल्य चाहिएको छ, विद्यार्थीलाई भविष्यको स्पष्ट बाटो चाहिएको छ । तर नेताहरूको प्राथमिकता आफ्नै परिवार, दलको स्वार्थ र सत्ताको लोभ मात्र बन्यो । यसरी जनताको विश्वास बारम्बार टुट्दा अब जनता केवल निराश मात्र छैनन्, आक्रोशले भरिएका छन् ।
युवाको आक्रोश
युवाहरू देशको मेरुदण्ड हुन्। उनीहरूको हातमा शक्ति, विचार र क्षमता छ । तर यो शक्तिलाई सकारात्मक बाटो देखाउन राज्य असफल भयो । युवाहरू बेरोजगार बने, परदेशिन बाध्य भए, आफ्नै देशमा भविष्यको उज्यालो देख्न सकेनन् । यसरी निराश युवाहरूको मनमा राजनीति प्रति वितृष्णा बढ्दै गएको छ । यो वितृष्णा अब चुपचाप बस्ने अवस्थामा छैन, विद्रोहको रूप लिन थालेको छ ।
नेताहरूको स्वार्थी राजनीति
राजनीतिक नेतृत्वले राष्ट्रभन्दा पार्टीलाई प्राथमिकता दियो। जनता भन्दा पदलाई महत्व दियो। आन्दोलनको नेतृत्व गरेर जनताको विश्वास जित्नेहरू सत्तामा पुगेपछि जनताकै माग बिर्सन थाले। खोक्रा भाषण, असत्य वाचा र भ्रष्टाचारले गर्दा जनताले राजनीति भनेको केवल धन्दा हो भन्ने बुझ्न थालेका छन् । यस्तो अवस्थामा, राजनीतिप्रति वितृष्णा हुनु स्वाभाविक हो ।
विद्रोहको आगो
जब जनता धोका, अन्याय र शोषण सहन सक्दैनन्, त्यतिबेला उनीहरूको मनमा विद्रोहको आगो प्रज्वलित हुन्छ । यो विद्रोह केवल सडकमा नाराबाजी मात्र होइन, सोचमा परिवर्तन हो । जनता अब अन्धाधुन्ध विश्वास गर्दैनन्। उनीहरू जवाफदेही नेतृत्व खोज्छन् । यदि नेतृत्व जवाफदेही भएन भने, यही विद्रोहको आगोले भ्रष्टाचार, स्वार्थ र अन्यायलाई भस्म पार्नेछ ।
आत्मसमीक्षाको आवश्यकता
अब आत्मसमीक्षा गर्ने समय आएको छ । आत्मसमीक्षा भनेको केवल भाषणमा होइन, व्यवहारमा देखाउनुपर्ने कुरा हो । नेताहरूले कुर्सीका लागि होइन, राष्ट्र र जनताका लागि काम गर्नुपर्छ । जनताको पीडा बुझेर समाधान गर्ने बाटो देखाउनुपर्छ। युवासँगै संघर्षमा उभिनुपर्छ, किसानसँगै पसिना बगाउनुपर्छ, मजदुरसँगै श्रममा जोडिनुपर्छ ।
असल राजनीतिका आधार
साँचो राजनीति भनेको सेवा हो, त्याग हो, समर्पण हो । पद, शक्ति वा सम्पत्तिको खेल होइन। नेतृत्वले यो कुरा बुझेर व्यवहारमा उतार्न सके मात्र राजनीति माथि विश्वास पुनःस्थापित हुन्छ । यदि बुझिएन भने, राजनीति प्रति वितृष्णा अझ बढ्नेछ र त्यो वितृष्णाबाट जन्मिएको विद्रोहको आगो बाट नयाँ इतिहास को स्थापना हुन्छ । नेपालका जनता धैर्यवान छन्, तर अनन्तकालसम्म धैर्य गर्न सक्दैनन्। नेताहरूले यो बुझ्न जरुरी छ । जनता नै राजनीति र राष्ट्रको मूल आधार हुन्। जनता बिना राजनीति निरर्थक हुन्छ । यदि नेतृत्वले समयमै आफ्नो बाटो सच्याएन भने, राजनीति वितृष्णाबाट उत्पन्न भएको विद्रोहको आगोले पुरानो स्वार्थी राजनीति प्रणालीलाई भस्म पार्नेछ र नयाँ न्यायपूर्ण, पारदर्शी र जनमुखी राजनीति जन्मिनेछ ।
लेखक राजन कठायत, पचालझरना गाउँपालिका वडा नम्वर ३ निवासी हुनुहुन्छ ।