
पुस, ५ सुर्खेत । कर्णालीमा व्याप्त बालविवाह रोक्न कानुनको प्रभावकारी कार्यान्वयनका साथै जनचेतनामूलक कार्यक्रम आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् । ’बालविबाहविरुद्धको प्रादेशिक रणनीतिक योजना–२०८२ को प्रभावकारी कार्यान्वयनमा सरोकारवालाको भूमिका’ विषयक छलफल कार्यक्रममा सरोकारवालाहरुले कानुनी कारवाही र जनचेतनामूलक कार्यक्रमलाई सँगसँगै समुदायमा लिएर जानुपर्ने बताएका हुन् ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बालविवाह न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रमहरुमा जोड दिइएको बताउनुभयो । उहाँले बालविवाहविरुद्ध प्रादेशिक रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयनका लागि बाल अधिकार र सशक्तिकरणका क्षेत्रमा आवश्यक बजेटसहित कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले पनि जनचेतनामूलक कार्यक्रममार्फत बालविवाह न्यूनिकरण गर्न सकिने बताउनुभयो । यसका लागि समाजका अगुवा र विद्यार्थीले भूमिका खेल्नुपर्ने उहाँको भनाई छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधव श्रेष्ठले बालविवाहका घटनाहरु प्रहरी कार्यालयसम्म आउने नगरेको बताउनुभयो । उहाँले कतिपय ठाउँमा प्रहरी आफैले थाहा पाएर बालविवाह गर्नबाट रोक लगाएको बताउँदै समाजमै यस्ता घटनाहरु गुपचुप हुने गरेको बताउनुभयो । उहाँले बालविच्याइँ गर्नेहरुलाई राख्नका लागि कर्णालीमा बाल सुधार गृह नहुँदा पनि समस्या भइरहेको बताउनुभयो ।
सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बालविवाहबिरुद्धको प्रादेशिक रणनीतिक योजनालाई प्रभावकारी कार्यान्यवन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभएको छ ।
