
माघ २१, जाजरकोट । भेरी कोरिडोर भित्र रहेको विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोडनका लागि ४०० केभी प्रसारण लाइन निर्माण गर्न प्रक्रियागत काम सुरु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–८ मैनतडा र जाजरकोट नलगाड नगरपालिका–७ दानी पिपलमा प्रसारण लाइन निर्माण हुने भएको हो ।
करिब ७५ किलोमिटर लम्बाइ रहेको प्रसारण लाइन निर्माण गर्नका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ । १३२ केभी प्रसारण लाइननमा विद्युत् जोडनका लागि यो काम सुरु भएको राष्ट्रिय प्रसारण ग्रिट कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले बताउनुभयो । हाल मैनतडा र दानी पिपलमा जग्गा अधिग्रहणको काम पुरा भइकेको छ ।
कोहलपुर –सुर्खेत १३२ केभी प्रसारण लाइन मैनतडा स्थित ४०० केभी लाइनबाट विद्युत् जोडिने लक्ष्य रहेको कम्पनीका अधिकृत श्रेष्ठले जानकारी दिए । ८ अर्बमा प्रसारण लाइन निर्माण हुने छ । त्यस्तै ६ अर्ब रुपैयाँमा दानी पिपल र मैनतडामा सव स्टेसन निर्माण गर्न लागिएको उनले जानकारी दिनुभयो ।
तत्कालीन उर्जामन्त्री शक्तिबहादुर बस्नेतकै पालामा जग्गा अधिग्रहणको काम पुरा भइसकेको थियो । त्यस्तै नलगाड जलविद्युत आयोजना ४१७ मेगावाटको डिपिआर समेत पुरा भइसकेको थियो । त्यस्तै बस्नेतकै पालामा जगदुल्ला जलविद्युत आयोजनाको प्रक्रियागत ९० प्रतिशत काम पुरा भएको थियो ।
हाल उक्त आयोजना निर्माण चरणमा गएको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । ग्रिड कम्पनीका सिइओ श्रेष्ठका अनुसार बजेट व्यवस्थापन गर्नका लागि अर्थ मन्त्रालयसँग सहमति माग्ने प्रक्रिया चलिरहेको छ । आयोजना निर्माण गर्नका लागि कुन मोडलमा जाने भन्ने विषयमा समेत छलफल जारी रहेको छ । जुन मोडलमा काम गर्न सहज र छिटो हुन्छ त्यही मोडलमा जानका लागि प्रक्रियागत रूपमा अगाडी बढाएको छ । जाजरकोट मात्र नभई कर्णालीकै भविष्यसँग जोडिएको यो आयोजना निर्माण गर्नका लागि अर्थ मन्त्रालयले सहमति दिन साथ काम सुरु हुने उहाँले जानकारी दिनुभयो ।
कूल ४०० केभी क्षमताको सो प्रसारण लाइनले दुई हजार ४०० मेगावाट बराबरको बिजुली प्रवाह गर्न सक्ने विभागले जनाएको छ । भेरी नदीबाट निर्माण हुने विद्युत् आयोजनाहरू, जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट, जगदुल्ला जलविद्युत आयोजना ८२.३ मेगावाट, नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट विद्युत् , छार्काताङ्सोङ् गाउँपालिकामा भारबुङ तातु खोला जलविद्युत् आयोजना ३२८ , ताक्सुगाड जलविद्युत आयोजना ७ मेगावाट र सानी भेरी नदीबाट उत्पादित विद्युत् नलगाड नगरपालिकाको दानी पिपलमा जम्मा गरेर सुर्खेतको मैनतडा सव स्टेसनमा पठाएर राष्ट्रिय प्रचारणमा जोडिने लक्ष्य छ ।
