
माघ २५, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै आज दशौँ संस्करणको आइसीसी टी–२० विश्वकपको सुरुवात गर्दैछ । मुम्बइको वानखेडे क्रिकेट स्टेडियममा आइतबार दिउँसो सवा ३ बजे नेपाली टोली इङल्यान्डविरुद्ध मैदान उत्रँन लागेको हो ।
नेपालले समूह चरणका आफ्ना चार खेल वानखेडे स्टेडियममा नै खेल्नेछ । समग्रमा तेस्रो र लगातार दोस्रो पटक नेपालले विश्वकप खेल्न लागेको हो । अघिल्लो पटक विश्वकप खेलेका १० र नयाँ खेलाडीले यसपटकको विश्व कपमा नेपालको प्रतिनिधित्व गर्दैछन् । आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव विश्वकपमा डेब्युको तयारीमा छन् ।
सोमपाल कामी भने नेपालले खेलेका तिन वटै विश्वकप खेल्ने एक्ला खेलाडी बन्ने संघारमा छन् ।
कप्तान रोहित पौडेलसँगै ओपनर कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरि, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्न लागेका हुन् ।
इङल्यान्डविरुद्ध मैदान उत्रनुअघि नेपाली टोलीले शनिबार पुरा आराम पाएको थियो । विश्वकपअघि नेपालले युएई र क्यानडासँग अफिसियल वार्मअप म्याच खेलेको थियो। ति दुवै खेलमा नेपालले जित हात पारेको थियो । विश्वकप आयोजक श्रीलंका र भारतमा अभ्यास गरेको नेपाली टोली उच्च मनोबलमा छ ।
सन् २०१० र २०२२ मा विश्वकपको उपाधि उचालेको बलियो टोली इङल्यान्ड नेपाललाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । नेपालविरुद्धको खेलका लागि इङल्यान्डले शनिबार नै प्लेइङ ११ सार्वजनिक गरिसकेको छ ।
नेपाल इङल्यान्डसँगै वेष्ट इण्डिज, स्कटल्यान्ड र इटाली रहेको समुहमा छ । इङल्यान्ड र वेष्ट इण्डिजले दुई पटक विश्वकपको ट्रफी उचालेका छन् । इटाली भने विश्वकपमा डेब्यु गर्न लागेको हो । सन् २००७ मा विश्वकप कपमा डेब्यु गरेको स्कटल्यान्ड सन् २०१६ पछि लगातार विश्वकप खेल्ने टोली हो ।
बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा आएर खेल्न अस्वीकार गरेपछि आइसीसीले वरियताको आधारमा स्कटल्यान्डलाई मौका दिएको हो ।
यस्तै, विश्वकपको पहिलो दिन शनिबार तिन खेल सम्पन्न भए । श्रीलंकाको कोलोम्बोमा भएको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले हरायो। भारतको इडेन गार्डेनमा भएको खेलमा वेष्ट इण्डिजले स्कटल्यान्डलाई ३५ रनले तथा मुम्बइको वानखेडेमा साविक विजेता भारतले अमेरिकालाई २९ रनले हरायो ।
विश्वकपमा आइतबार पनि तीन खेल हुनेछ । दिनको पहिलो खेलमा चेन्नइमा समुह डी का अफगानिस्तान र न्यु जिल्यान्ड खेल्नेछन् । उता श्रीलंकाको कोलोम्बोमा घरेलु टोली र आयरल्यान्ड खेल्ने तालिका छ ।
