
फागुन १९, सुर्खेत। पर्सि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। राजनीतिक दल तथा उम्मेदवारलाई दिइएको प्रचारप्रसारको समय गएराति १२ बजेदेखि औपचारिक रूपमा सकिएको हो।
निर्वाचन आयोग ले फागुन ४ गतेदेखि प्रचारप्रसारको अनुमति दिएको थियो। मतदान हुनु ४८ घण्टा अघिदेखि मतदान सम्पन्न नभएसम्म कायम रहने मौन अवधिमा कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार, भाषण, सभा–भेला, छलफल, समीक्षा तथा मतदातालाई प्रभाव पार्ने गतिविधि गर्न पाइँदैन।
आयोगका अनुसार मौन अवधिमा मत माग्ने, सामाजिक सञ्जालमा पोस्ट गर्ने, चुनावलाई असर पार्ने उद्देश्यले हिँडडुल गर्ने जस्ता क्रियाकलापसमेत निषेध गरिएको छ। मतदातालाई प्रभावित पार्ने गरी आर्थिक लेनदेन गरेको पाइए उम्मेदवारी खारेज हुन सक्ने र दोषीलाई ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था रहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो।
उहाँका अनुसार मौन अवधिमा दल तथा उम्मेदवारका गतिविधि अनुगमन गर्न घुम्ती टोली परिचालन गरिएको छ। यस अवधिमा मतदान केन्द्रको तयारी, मतदाता लाइन व्यवस्थापन तथा शान्ति सुरक्षाको अवस्थाको मूल्याङ्कन गर्ने कामलाई प्राथमिकता दिइनेछ।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका चुनाव चिह्न र प्रचार सामग्री हटाइसक्नुपर्ने व्यवस्था छ। साथै एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय तथा सामाजिक सञ्जालमार्फत मत माग्न वा प्रचारप्रसार गर्नसमेत निषेध गरिएको आयोगले स्पष्ट पारेको छ। उम्मेदवार वा दलको प्रचार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन–प्रसारण गर्न पनि पाइँदैन।
विश्वका केही देशहरूमा २४ देखि ७२ घण्टासम्म मौन अवधि लागू गर्ने प्रचलन रहेको उल्लेख गर्दै आयोगले सबै सरोकारवालालाई आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ। यो समाचारलाई पुर्नलेखन गरिदिनु
