कर्णालीका ६ क्षेत्रको अपडेट ः कुन क्षेत्रमा कुन दलले गरिरहेका छन् लिड ?

फागुन २२ सुर्खेत । कर्णालीका ६ निर्वाचन क्षेत्रमा मतगणना जारी छ, जसमा केही क्षेत्रको नतिजा आइसकेको छ ।
सुर्खेत–१ मा कांग्रेस र दैलेख–१ मा कांग्रेसले अग्रता लिएका छन् भने सुर्खेत–२ मा एमालेले अग्रता लिएको छ ।
कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी र जुम्लामा राप्रपाले अग्रता लिएका छन्, रुकुम पश्चिममा जनार्दन शर्माको प्रलोपाले अग्रता लिएको छ।
सुर्खेत । शुक्रबार दिउँसो १२ बजेसम्म कर्णालीका ६ वटा निर्वाचन क्षेत्रहरूमा मतगणना जारी छ । केही क्षेत्रमा भर्खरै सुरु भएको छ भने ६ क्षेत्रमा पहिलो चरणका रिपोर्टहरू आइसकेका छन् । सोही अन्तर्गत अहिलेसम्म सुर्खेत—१, दैलेख—१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ भने सुर्खेत—२ मा नेकपा एमालेले अग्रता लिएको छ ।
त्यस्तै, कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी र जुम्लामा राप्रपाले अग्रता लिएको छ । रुकुम पश्चिममा जनार्दन शर्मा ‘प्रभाकर’को प्रलोपाले लिड गरेको छ ।
सुर्खेत १ मा १९९० मत गणना गर्दा कांग्रेसका विष्णुकुमार खड्काले ७९६ मत पाएका छन् । रास्वपाका टेकबहादुर सिंहले ५४५ सहित दोस्रो स्थान पाउँदा एमालेका ध्रुवकुमार शाहीले ४२७ मत पाएका छन् ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका जीतबहादुर रानाले ७७ र राप्रपाका रविकिरण हमालले १७ मत पाएका छन् । बदर मत ८४ रहेको छ । सुर्खेत–२ मा सुरुमा कांग्रेसले लिड गरे पनि अहिले एमालेका कुलमणि देवकोटाले ३१६ मतसहित लिड गरेका छन् ।

त्यस्तै, कांग्रेसका कोइरालाले २१८, रास्वपाका रमेशकुमार सापकोटाले १२७ र नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले १०७ मत पाएका छन् ।

उता, दैलेख–१ मा कांग्रेसकी बासना थापा निरन्तर अगाडी छन् । उनले १९४९ मतसहित लिड गरेकी छिन् । यहाँ एमालेका रविन्द्र शर्माले १४७५, रास्वपाका नन्दकिशोर बस्नेतले १०२४ र नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाले १२९ मत पाएका छन् ।

त्यस्तै, कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाहीले निरन्तर लिड गरिरहेका छन् । पलाँता, पचालझरना र नरहरिनाथ गाउँपालिका र तिलागुफका केही वडाको मतगणना गर्दा शाहीले ४८३६ मत पाएका छन् ।

त्यस्तै, कांग्रेसका हर्षबहादुर बमले ३५९०, एमालेका नगीन्द्र शाहीले ३४३२ मत र नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले २३३९ मत पाएका छन् । रास्वपाले ७९० मत मात्रै पाएको छ । जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले निरन्तर लिड गरिरहेका छन् । नेकपाका नरेश भण्डारी दोस्रो स्थानमा छन्, जुम्लामा ।

यसैबिच रुकुम पश्चिमको पनि पहिलो पटकको विवरण आएको छ । आठबिसकोट १ र ३ को जम्मा ९०२ मत गणना भइसक्दा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार शर्माले ४१२ मत ल्याएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले २८७ मत ल्याएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका राजु केसीले ८८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले ८२ मत प्राप्त गरेका छन् ।