संसदीय निर्वाचनः कर्णालीमा कसको बन्ला सरकार ? यस्तो छ अंकगाणित

सुर्खेत  । कर्णाली प्रदेशका १० जिल्लाका सबै १२ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ ।
अन्तिम नतिजा अनुसार प्रतिनिधिसभामा नेकपा माओवादी (केन्द्र) र नेपाली काँग्रेसले समान ४÷४ सिट जितेका छन भने एकिकृत समाजवादीले ३ सिट जितेको छ । राप्रपाले एउटा सिटमा जित हात पार्दा नेकपा एमाले शुन्यमा झरेको छ ।
२०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा एमालेले जित हासिल गरेको थियो । तर कर्णालीमा प्रतिनिधिसभातर्फ एमाले शुन्य भयो ।
ग्ठबन्धनको बलमा एमालेका गढ मानिएका क्षेत्र पनि यो पटकको निर्वाचनमा काँग्रेस माओवादीले भत्काइदिए ।
कुन पार्टीको बन्ला प्रदेश सरकार ?
प्रत्यक्ष र समानुपाति गरि कर्णाली प्रदेशसभा ४० सदस्यीय बन्ने छ । संसदीय अंक गणितअनुसार कर्णाली प्रदेशमा बहुमतको सरकार बनाउन २१ जना सांसद आवश्यक पर्छ । कर्णालीका २४ निर्वाचन क्षेत्रमध्य गठबन्धनभित्र रहेका दल नेकपा माओवादी (केन्द्र) र नेपाली काँग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेका छन । भने नेकपा एमालेले प्रदेशतर्फ ५ सिटमा जित हात पार्दा एकजना स्वतन्त्र संसदमा प्रवेश गर्दै छन । पार्टीगत रुपमा हेर्दा कांग्रेसका ९ र माओवादी केन्द्रले पनि ९ सिटमा जितेका छन ।
प्रत्यक्षमा सबै नतिजा आउँदा अहिलेको माओवादी काँग्रेस गठबन्धनले सरकार बनाउने देखिन्छ । कांग्रेस माओवादीको गठबन्धन रहेको खण्डमा समानुपातिकसहितको जोड्दा कर्णालीमा दुइतिहाईको सरकार बन्ने देखिन्छ ।
अहिलेसम्मको समानुपातिको नतिजाको प्रतिशतलाई हेर्ने हो भने कर्णालीमा एमालेको बढीमा ५ सिट आउने देखिन्छ । एमालेको ५ सिट समानुपातिकतर्फ आएको खण्डमा उक्त पार्टीको सांसद संख्या १० जना पुग्ने छन भने गठबन्धमा आवद्ध दलको समानुपातिक तर्फ ११ सिट आउने देखिन्छ । जसमा माओवादीको ६ र काँग्रेसको ५ सिट समानुपातिकमा आउने संकेत देखिन्छ ।
यसरी संसदीय गणितमा काँग्रेस र माओवादीका सांसदको संख्या २९ हुने छ । बहुमतको सरकार गठनको लागि २१ जना सांसद आवश्यक पर्छ भने यी दुबै दलसँग दुइतिहाईभन्दा बढी सांसद हुने छन ।
यदी गठबन्धन बदलिएको खण्डमा बदलिएको खण्डमा तिनवटै पार्टीले आफ्नो नेतृत्वमा सरकार गठन गर्नको लागि प्रयास गर्ने छन । समिकरण फेरिएको खण्डमा प्रदेश सरकार गठनको लागि एमाले निर्णायक पोजिसनमा हुने छ ।