आज रक्षा बन्धन तथा जनै पूर्णिमा

जागरण
सुर्खेत २७ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन शुक्रबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।
सोही कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेनी त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।
जनै फेर्ने दिन
आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्छन् । यसका लागि हिजैदेखि कपालमुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमातृका लगाएर स्नान गर्छन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।
स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम,जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।