
फागुन १६, सुर्खेत । निर्वाचन आयोगले मतदानको दिन देशभर मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ । जल तथा मौसम विज्ञान विभागसँगको समन्वयपछि यस्तो पूर्वानुमान सार्वजनिक गरिएको हो ।
शुक्रबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदानको दिन ९फागुन २१ गते० मौसमले निर्वाचन प्रक्रियामा कुनै अवरोध नपुर्याउने विश्वास व्यक्त गर्नुभयो । विभागका महानिर्देशकसँगको छलफलका आधारमा देशभर मौसम अनुकूल रहने निष्कर्ष निकालिएको उहाँले बताउनुभयो ।
विभागले विगत ३० वर्षको तथ्याङ्कलाई आधार मानेर पूर्वानुमान प्रणालीलाई परिमार्जन गरेको र अहिले एक सातासम्मको यथार्थपरक मौसम पूर्वानुमान गर्न सक्ने क्षमता विकास गरेको आयोगले जनाएको छ ।
हाल सङ्खुवासभा लगायतका केही हिमाली जिल्लामा छिटपुट हिमपात भइरहे पनि यसले मतदान प्रक्रियामा उल्लेखनीय असर नपार्ने आयोगको भनाइ छ । संयुक्त निर्वाचन सञ्चालन केन्द्रमार्फत दिनभर मौसमको अद्यावधिक जानकारी लिइरहेको आयोगले जनाएको छ ।
जमेको हिउँमाथि थपिएको नयाँ हिउँका कारण मतदातालाई मतदान केन्द्रसम्म पुग्न ठूलो समस्या नहुने आयोगको विश्वास छ । साथै, मौसममा अचानक परिवर्तन आए त्यसअनुसार थप सूचना सार्वजनिक गरिने आयोगले जनाएको छ ।
