
कृष्ण शर्मा
फागुन ३०,सुर्खेत । दैलेख जिल्लाका स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा भगवतीमाई गाउँपालिका पहिलो स्थानमा परेको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन २०८१ /०८२ को अन्तिम नतिजाअनुसार जिल्लाका ११ स्थानीय तहमध्ये भगवतीमाई गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो।
आयोगका अनुसार भगवतीमाई गाउँपालिकाले ६७.५१ अंक प्राप्त गरेको छ। त्यसपछि ६३.१३ अंकसहित डुङ्गेश्वर गाउँपालिका दोस्रो र ६१.९६ अंकसहित ठाँटिकाँध गाउँपालिका तेस्रो स्थानमा रहेका छन्।
त्यस्तै ६१.२३ अंकसहित नारायण नगरपालिका चौथो र ६०.७१ अंकसहित गुराँस गाउँपालिका पाँचौँ स्थानमा परेका छन्।
मूल्याङ्कनअनुसार माहाबु गाउँपालिका ५७.६३ अंकसहित छैटौँ स्थानमा रहेको छ। दुल्लु नगरपालिका ५६.१४ अंकसहित सातौँ, आठबिस नगरपालिका ४९.६४ अंकसहित आठौँ तथा नौमुले गाउँपालिका ४८.४३ अंकसहित नवौँ स्थानमा रहेका छन्।
यसैगरी चामुण्डा–विन्द्रासैनि नगरपालिका ४३.८५ अंकसहित दशौँ स्थानमा रहेको छ भने ३९.७८ अंकसहित भैरवी गाउँपालिका जिल्लामै अन्तिम स्थानमा परेको आयोगले जनाएको छ।
आयोगले स्थानीय तहको योजना कार्यान्वयन, वित्तीय अनुशासन, पारदर्शिता, सेवा प्रवाह, सुशासन, बजेटको प्रभावकारी उपयोग, प्रशासनिक क्षमता तथा जनसहभागितालगायतका सूचकका आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ।
आयोगका अनुसार यस्तो मूल्याङ्कनले स्थानीय तहको प्रशासनिक क्षमता, सेवा प्रवाहको प्रभावकारिता तथा विकास कार्यक्रम कार्यान्वयनको अवस्थाबारे संकेत गर्ने गर्दछ।
