‘बैैँक खाता छोरीको–सुरक्षा जीवनभरीको’ कार्यान्वयन सुस्त

नन्द कठायत ।
सुर्खेत, ३० मंसिर (जागरण) । कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको बैंक खाता खोलिदिने कार्यक्रम कार्यान्वयनको काम सुस्त भएको छ ।
गत साउनदेखि नै कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम र बजेटमा घोषणा गरिएको ‘बैैँक खाता छोरीको–सुरक्षा जीवनभरीको’ कार्यान्वयन ढिला भएको हो ।
तर अन्य नीतिगत प्रक्रिया अघि बढाउन, बैँकहरुसँग समन्वय गर्न र कर्णाली प्रदेशका सबै स्थानियतहहरुसँग समन्वय गर्न धेरै समय खर्च भएकाले कार्यान्वयनको काम ढिला भएको प्रदेश सरकारले जनाएको छ ।
अव पुस १ गते कालिकोटमा एक कार्यक्रम गरी यो कार्यक्रम प्रदेशभरी नै कार्यान्वयन भएको घोषणा गर्ने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयबाट सशर्त अनुदानको रुपमा सबै स्थानिय तहहरुलाई बजेट पठाइसकिएको र अव कार्यान्वयनको घोषणा हुन मात्र बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सुचना तथा सञ्चार समन्वय शाखाका शाखा अधिकृत केशव उपाध्यायले बताउनुभयो ।

उहाँकाअनुसार कर्णालीमा छोरा र छोरीबीच विभेद कायमै रहेकाले छोरीहरुको शिक्षा, स्वास्थ्य, लालनपालन र जीवनस्तरमा सुधारमा केही सहजता होस् भनेर यस्तो कार्यक्रम ल्याइएको हो ।

स्वीकृत कार्यविधि अनुसार गत साउन १ गते वा त्यसभन्दा पछाडी जन्मिएका छोरीको नाममा खाता खोल्ने र त्यस खातामा पहिलो महिना एक हजार रुपैयाँ जम्मा गर्ने र त्यसपछि पाँच सयका दरले रुपैयाँ प्रदेश सरकारले जम्मा गरिदिने छ ।
अहिले सबै स्थानिय तहहरुमा बैँक पुगिसकेकाले खाता खोल्न अभिभावक वा संरक्षकले जन्मदर्ता र अन्य कागजात संलग्न गरी आफू बसोबास गरिरहेको स्थानीय तहमा निवेदन दिन सक्ने उपाध्यायले बताउनुभयो । उहाँले त्यसको लागि छोरी विद्यालय अध्ययन गरिरहेको हुनुपर्ने र विवाह भएको छैन भन्ने सुनिश्चिता हुनुपर्ने बताउनुभयो ।

तर दुई वटा सन्तान जन्माउने परिवारका लागि मात्र यो कार्यक्रम लागू हुनेछ ।