‘अर्गानिक कृषि नमुना गाउँ’ अन्तिम चरणमा

सुर्खेत, २५ माघ (जागरण) । कर्णाली प्रदेश सरकारले अघि सारेको ‘अर्गानिक कृषि नमुना गाउँ’ कार्यक्रम अन्तिम चरणमा पुगेको छ । अर्गानिक कृषि नमूना गाउँको रुपमा विकास गर्नेगरी छनोट भएका १० वटै जिल्लाका स्थानिय तहहरुमा कार्यक्रम अन्तिम चरणमा रहेको हो ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ देखि सुरु गरेको नमूना गाउँ कार्यक्रम ९ जिल्लाका एक÷एक र डोल्पाका दुईवटा स्थानीय तहमा सञ्चालन गरिएको छ । आधारभूत रुपमा ती स्थानिय तहहरुमा काम सम्पन्न हुने चरणमा रहेको र अव मन्त्रालयबाट अनुगमन हुन बाँकी रहेको छ ।

सुर्खेतको सिम्ता गाउँपालिका, जाजरकोटको कुशे गाउँपालिका, डोल्पाको त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिका, जुम्लाको सिंजा गाउँपालिका, मुगुको सोरु गाउँपालिका, हुम्लाको ताँजाकोट गाउँपालिका, कालिकोटको सन्नित्रिवेणी गाउँपालिका, सल्यानको कुमाख गाउँपालिका, रुकुम पश्चिमको आठविसकोट नगरपालिका, दैलेखको भगवतीमाई गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गरिएको छ ।

चालु आर्थिक वर्षमा कृषि नमूना गाउँका लागि १५ करोड रकम विनियोजन गरिएको छ । प्रत्येक अर्गानिक नमुना गाउँलाई ५० लाखका दरले बजेट विनियोजन गरी सम्बन्धीत जिल्लास्थित कृषि विकास कार्यालयमा बजेट पठाइसकिएका मन्त्रालयले बताएको छ ।

यो वर्षको कार्यक्रम पकेट क्षेत्र मात्र लागू गरी स्थानीय तहको फरक वडामा सञ्चालन हुनेगरी अघि बढेको मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले बताउनुभयो । उहाँका अनुसार नमुना गाउँ तोकिएको क्षेत्रमा प्राङ्गारिक मल, प्राङ्गारिक खेती हुनपर्ने मापदण्ड अनुसार नै काम भइरहेको छ ।

भारीले उद्यमी, व्यवसायीक कृषकहरुलाई व्याज अनुदानसँग जोड दिने उद्देश्यका साथ व्याज अनुदानको कार्यविधि स्विकृतको क्रममा रहेको र मन्त्रीपरिषद्बाट पास हुन बाँकी रहेको बताउनुभयो ।

हालसम्म कर्णाली प्रदेश प्रांगारिक कृषि विधेयक २०७५, अर्गानिक मोडेल कृषि कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५, स्थानीय तहमा अर्गानिक कृषि उत्पादन प्रोत्साहन कार्यविधि निर्माण गरिएको मन्त्रालयले जनाएको छ ।