साँसद् भन्छन्, ‘कर्णाली सरकार विधिमा चल्न सकेन’

सुर्खेत, २४ माघ (जागरण) । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि शुरु भएको छ ।
संसद वैठकमा बोल्ने अधिकांश साँसद्हरुले सरकारको कामकारबाही चित्त बुझ्दो नरहेको भन्दै आलोचना गरेका छन् । सरकार विधिमा चल्न नसकेको साँसद्हरुको गुनासो छ ।
बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले काम भन्दा पनि प्रक्रिया पुरा गराउनको लागि वैठक बसालेको दावी गर्दै संघीय राज्य प्रणालीमा आएपछि कर्णालीले परिवर्तनको अनुभूती हुने कुनै काम नभएको बताउनुभयो ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद यमलाल कँडेलले संसदको काम कार्बाहीलाई प्रभावकारी ढंगबाट अघि बढाउन सरकार र संसद भित्र रहेका सबै दलहरुको भुमिका प्रभावकारी रहनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सरकार प्रति आलोचना भइरहे पनि, प्रक्रियाका मामिलामा फरक फरक मतान्तर रहेका र मुलुक सुशासनका माध्यमबाट अघि बढिरहेको पनि उल्लेख गर्नुभयो ।
यस्तै सांसद शोशिला शाहीले लोकतन्त्रको नाममा लुटतन्त्र भइरहेको दावी गर्नुभयो । विगतमा बर्षमा नीति नियम र कानुनले अघि बढ्न नसकेको सरकारलाई अहिले कुन तत्वले संक्रमण गरिरहेको छ ? भन्ने प्रश्न गर्नुभयो ।
अहिले सरकार नीति नियम विपरित चलिरहेको पनि उहाँले दावी गर्नुभयो । अहिले नीतिगत भ्रष्टाचार मौलाइरहेकोले जनता सरकारबाट रुष्ट बनिसकेको उहाँको दावी छ । प्रदेशसभाको अर्को बैठक फागन १ गते विहीबार दिउँसो तिन बजेसम्मका लागि स्थगित भएको छ ।