पूर्ण रुपमा अर्गानिक प्रदेश बनाउन जनप्रतिनिधिका पाँच प्रतिवद्धता

सुर्खेत, ८ फागुन (जागरण) । कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले प्रदेशलाई पूर्ण रुपमा अर्गानिक प्रदेश बनाउने प्रतिवद्धता जनाएका छन् ।
वीरेन्द्रनगर सुर्खेतमा गरिएको प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ बाट यस्तो प्रतिवद्धता जनाइएको हो ।
पुर्ण अर्गानिक प्रदेश बनाउनका लागी दुई दिनसम्म चलेको सम्मेलनबाट कर्णाली प्रदेशभरका जनप्रतिनिधिहरुले पाँच बुँदे साझा प्रतिवद्धता ब्यक्त गरेका छन् ।

अर्गानिक खेतीमा वृद्धी, कर्णाली प्रदेशको समृद्धि भन्ने मुल नारा लिएर शुरु भएको सम्मेलनबाट गाउँगाउँमा अर्गानिक खेतीपातीको जागरण गराउनुपर्नेमा जोड दिइएको छ ।
कर्णाली प्रदेशको खेतीपाती खाद्यन्न, तरकारी, फलफूल, मसला, पशुपंछी पालन तथा कृषि पशुपंछीजन्य उद्योग समेत समग्रमा प्रागांरिक बनाउने अभियान चलाइने छ ।
त्यस्तै अर्गानिक खेतीको अभियान सफल बनाउन सहकार्य र समन्वय गर्न, कर्णाली प्रदेशको विविधतायुक्त विशेषता र स्थानीयतामा आधारित अर्गानिक खेती उन्नत बनाउन सामुहिक प्रतिवद्धता जनाइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भुमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो ।
आम जनसमुदायको जीवन पद्धतिलाई खेतीपाती, जनस्वास्थ्य र शिक्षाको एकिकृत विचार र अभ्यास गरी दिगो प्रकृति र गौरवमय मानव सभ्यतालाई भावी पुस्तामा हस्तान्तरण गर्न पनि साझा प्रतिवद्धता जनाएको मन्त्री केसीले जानकारी दिनुभयो ।