मदन भण्डारी फाउन्डेसन कर्णालीको अध्यक्षमा रविन्द्र शर्मा, कुलमणी देवकोटा सचिव

सुर्खेत, ८ फागुन (जागरण) । कर्णालीमा मदन भण्डारी फाउण्डेशनको प्रदेश कमिटी गठन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दैलेखका अध्यक्ष रविन्द्रराज शर्माको अध्यक्षतामा २९ सदस्यीय फाउण्डेशन गठन गरिएको हो ।
समितिको सचिवमा सुर्खेतका कुलमणी देवकोटा रहनुभएको छ । अध्यक्ष शर्मा दैलेखको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद हुनुहुन्छ ।
समितिको सदस्यमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, मिना रखाल, दानसिंह परियार, कौशिला खत्री, रत्नप्रसाद न्यौपाने, गोविन्द पुन, चन्द्रप्रकाश घर्ती, मोहनमाया ढकाल, गोकुल बुढा, दल फडेरा, शेरबहादुर बुढा, टेकेन्द्रकुमार बस्नेत, छेजुङ लामा, तेजबहादुर चन्द, मेनका पाछाईलगायत रहेका छन् ।


जननेता मदन भण्डारीले अघि सारेको विचार र मान्यताहरुको अध्ययन, अनुसन्धान विकास तथा तीनको कार्यान्वयन गर्दै सामाजिक विकास गर्ने उद्देश्यले प्रदेशमा पहिलो पटक गठन गरिएको फाउण्डेशनका पदाधिकारी तथा सदस्यहरुले आज सपथसमेत लिएका छन् ।
नेकपाका केन्द्रीय सदस्य एवम पूर्व सांसद लक्ष्मी पोखरेलले एक कार्यक्रमकाबीच सपथ गराउनुभएको हो ।
यसैबीच फाउण्डेशनको पहिलो बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ । जसअन्र्तगत सचिव कुलमणि देवकोटालाई कार्यालय संचालनको जिम्मेवारी दिइएको छ ।
फाउण्डेशनको समन्वय र विस्तारको लागि दैलेखमा तेजबहादुर चन्द, सूर्यबहादुर शाही र मिनासिं रखाल, कालीकोटमा दक्षिणा शाही, जुम्लामा शान्तिलाल महत, मुगुमा दानसिंह परियार, हुम्लामा दल फडेरा, डोल्पामा शेरबहादुर बुढा, रुकुम पश्चिमका ऋषि शर्मा, सल्यानमा गोविन्द पुन र सुर्खेतमा टेकेन्द्रकुमार बस्नेत र मोहनमाया ढकाललाई जिम्मेवारी दिइएको छ ।
बैठकले फागुन मसान्तसम्म कर्णाली प्रदेशका दश वटै जिल्लामा फाउण्डेशको गठन र पुर्नगठन गर्ने, चैत मसान्तसम्म स्थानीय तहहरुमा कमिटी गठन गर्ने र आगामी जेठको पहिलो हप्ता प्रदेशस्तरीय भेला गर्ने निर्णय गरिएको सचिव देवकोटाले जानकारी दिनुभयो ।