जागरणको प्रभावः कृषकलाई सघाउँदै स्याउ सुपरजोन (अडियो सहित)

मानबहादुर कुँवर ।
जुम्ला, ३० फागुन (रेडियो खुला आकाश) । जुम्लामा क्रियाशिल स्याउ सुपरजोन कार्यक्रमले स्थलगत समुहिक खेती गरेका कृषकहरुलाई सिञ्चाई, घेरबार जस्ता कार्यक्रममा सहजिकरण गर्ने भएको छ ।

यसैगरी समुह विहिन कृषकहरुलाई बगैँचा व्यवस्थापनबारे तालिम दिइने भएको छ । जागरण एफ. एम. को उत्पादनमा कर्णाली प्रदेशका विभिन्न रेडियोबाट प्रशारण हुने समाचार बुलेटिन कर्णाली रैबारमा जुम्लाको रेडियो खुला आकाशले पठाएको समाचारले ध्यानआर्कषण गराएको सुपरजोनले जनाएको छ ।

गत फागुन २५ गते जुम्लाका ‘स्याउ कृषकको दुःख वालुवामा पानी’ भन्ने शिर्षकमा समाचार प्रशारण भएपछि आज सुपरजोनले कृषकलाई बोलाई छलफल गरेको हो ।

खुसी मुद्रामा घर फर्किने क्रममा कृषकहरु ।

तातोपानी ७ सर्मिका कृषकलाई कार्यालयमै बोलाई स्याउ सुपरजोन जुम्ला कार्यालयका प्रमुख नवराज भण्डारीले उनीहरुको वास्तविक पीडाबारे छलफल गर्नु भएको छ । स्याउ रोप्ने देखि बगैँचा व्यवस्थापन सम्मको जानकारी दिन गाउँमै पुगेर तालिम दिइने उहाँले बताउनु भएको छ ।

विगतमा सरोकारवाला निकायबाट लागू गरिएका स्याउ क्षेत्रका कार्यक्रम प्रभावकारी हुन नसक्दा कृषकबाट बारम्बार गुनासो आउने गरेका छन् । आगामी दिनमा घेरबार र सिँचाई सहितको नमुना बगैँचा स्थापना गर्न कृषि विकास कार्यालय, स्थानीय तह र स्याउ सुपरजोन बिच छलफल भइरहेको स्याउ सुपरजोनका प्रमुख भण्डारीको भनाई छ ।

हचुवाको भरमा रोपेका विरुवाले फल नदिँदा कृषकहरु निराश भएका थिए । आफ्नो पीडा पोख्न जुम्ला सदरमुकाम पुगेका उनीहरु स्याउ सुपरजोनले स्याउ खेतिलाई भरपर्दो र व्यवस्थित बनाउने आश्वासन दिएपछि खुसी हुँदै घर फर्किएका छन् ।

समृद्धिको एउटा भरपर्दो आधार भनेकै जुम्लाको स्याउ हो । सुपरजोनको जस्तै अन्य निकायको पनि यसरी नै ध्यान केन्द्रित हुन आवश्यक छ ।

विस्तृतमा सुन्नुहोस् यो रिपोर्टः