नन्द कठायत, मानबहादुर कुँवर ।
सुर्खेत–जुम्ला, २९ वैशाख (जागरण–रेडियो खुला आकाश) । कर्णाली प्रदेश सरकारले १० वटै जिल्लामा चिकित्सक खटाउन शुरु गरेको छ ।
कोरोना भाइरसको प्रतिकार्य, रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभाकारी बनाउन प्रदेश सरकारले आज प्रदेशअन्तर्गत १० वटै जिल्लाका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो ।
प्रदेश सरकारले यसअघि डोल्पाबाट शुरु गरेको यो कार्यअन्तर्गत आज हुम्लामा एयरलिफ्टिङ गरेर चिकित्सक टोली पठाएको हो । उनीहरुलाई एक महिनाका लागि पठाइएको कर्णाली सरकारले बताएको छ ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलकाअनुसार प्रदेश अस्पतालका चिकित्सकहरुको टोली सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिम तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली जुम्ला, मुगु, हुम्ला, कालिकोट र डोल्पाका लागि खटिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकको टोली आज हुम्ला गएको छ ।
अन्य जिल्लामा भने आजै स्थलमार्गबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाइएको मन्त्री रावलले बताउनुभयो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल, प्रमुख सचिव टेकनारायण पाण्डे, स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक रीता भण्डारी (जोशी) सहितको टोलीले आजै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगेर त्यहाँको जनशक्ति, सेवा प्रवाह, पिसीआर मेसिन, भेन्टिलेटर, आइसीयू र आइसोलेसन कक्षसहित सिङ्गो भौतिक संरचनाको अनुगमन गरेकोे प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।
प्रदेश सरकारको टोलीले प्रतिष्ठानका पदाधिकारी र जुम्लाका आठवटै स्थानीय तहका प्रमुखहरुसँग बसेर कोरोना प्रतिकार्य, रोकथाम, नियन्त्रण, उपचार तथा राहत कार्यक्रमका विषयमा अन्तक्र्रिया पनि गरेको छ । त्यसमा मुख्यमन्त्री शाहीले कर्णालीलाई कोरोनामुक्त बनाउन स्वाब परीक्षणको दायरा बढाउन निर्देशन दिनुभएको छ ।