चौरजहारीमा ‘खाद्यान्नका लागि रोजगार’ कार्यक्रम सुरु

ज्ञानु गौतम ।
रुकुमपश्चिम, २९ वैशाख (रेडियो चौरजहारी) । लकडाउनका कारण प्रभावित दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले ‘खाद्यान्नका लागि रोजगार’ कार्यक्रम सुरु गरेको छ ।

नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्ने मजदुरलाई लक्षित गरेर राहतको सट्टा रोजगारी दिने कार्यक्रम अघि बढाएको हो । लकडाउनका कारण रोजगारी गुमाएका परिवारले राहत माग गरेपछि त्यस्ता परिवारका सदस्यलाई रोजगारी दिन लागिएको नगर प्रमुख विशाल शर्माले बताउनु भयो ।

एउटा घरबाट कम्तिमा एक जनालाई रोजगार दिने नीति लिइएको छ । राहतको सट्टा रोजगार दिँदा वास्तविक श्रमिक र मजदुरहरु काममा आउने नगर प्रमुख शर्माको भनाई छ ।

नगरका सबै वडा कार्यालयमार्फत पहिलो चरणमा खाद्यान्न वितरण भइसकेको छ दोश्रो चरणमा राहतको सट्टा विपन्न परिवारका लागि रोजगारी दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर के.सी ले बताउनु भएको छ ।