पढ्नुहोस् गुर्जो सेवन गर्दा हुने फाइदाहरु…

पंखबहादुर शाही ।
सुर्खेत, २४ जेठ (जागरण) । रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउन कर्णाली प्रदेशमा पाइने गुर्जो सेवन गर्नु उपयुक्त हुने स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउने र भाइरस तथा संक्रमणजन्य रोगबाट बच्न सकिने भएकाले यसको प्रयोग उपयुक्त हुने उनिहरुको सुझाव छ ।

कर्णाली प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले लामो समयदेखि गरिएको अध्ययनबाट गुर्जो स्वास्थ्यका लागि अति उपयुक्त जडिबुटी रहेको आफूहरुले पत्ता लगाएको बताउनुभएको छ । गुर्जो सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुमपश्चिम लगायतका जिल्लाका विभिन्न जंगलमा प्रसस्त मात्रामा पाइन्छ ।

रुघाखोकी, ज्वरो आउँदा औषधिको रूपमा प्रयोेग हुँदै आएको गुर्जोले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यसको सेवनलाई प्राथमिकता दिन जरुरी रहेको डाक्टर रिजालले जानकारी दिनुभयो ।

उहाँले गुर्जोको धूलो तातोपानी वा महमा मिसाएर, क्याप्सुल बनाएर तथा लहराको रस बनाएर पनि सेवन गर्न सकिने बताउनुभयो । हाल प्रदेश आयूर्वेद अस्पतालबाट कर्णालीका विभिन्न क्वारेन्टाइनमा पुगेर नागरिकलाई सचेतिकरण गर्दै गुर्जोलगायत जडिबुटीबारे जानकारी दिने गरिएको छ ।

क्वारेन्टाइनमा बसेका, पूर्व सावधानी गृहमा बसेका तथा त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रदेश आयूर्वेद औषधालयले गुर्जो उपलब्धसमेत गराएको छ ।

यसैबीच, औषधालयले वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा नेपाल–भारतमैत्री भवन र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको भवनमा रहेका १ सय २० जना सहित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र क्वारेन्टाइनमा बसेकालाई विहान साढे ५ बजेदेखि योग, ध्यान, प्रणायम, रोग प्रतिरोधात्मक क्षमतावृद्धिका उपायहरुबारे जानकारी गराउने गरिएको छ । औषधालयकाअनुसार यस्ता कार्यक्रमहरु अन्य स्थानीयतहमा रहेका क्वारेन्टाइनमा गएर पनि गरिने छ ।