पंखबहादुर शाही ।
सुर्खेत, १८ असार (जागरण) । आर्थिक वर्षको लामो समयसम्म काम नगर्ने र समय घर्किएपछि बजेट खर्च गर्ने धेरैजसो सरकारी कार्यालयको प्रवृत्ती छ ।
असारको महिना, कृषकहरु खेतबारीमा कुटोकोदालो गर्दै मानो छरेर मुरी उब्जाउने काममा व्यस्त हुन्छन् भने धेरै सरकारी निकायहरुलाई पनि असारे विकासको रन्को छ । जथाभावि बजेट सकाउने र सबै पैसा खर्च भएको देखाउने चटारोमा विकासे अड्डादेखि साना ठूला सबै निकाय लागिपरेका देखिन्छन् ।
‘हतपतमा लतपत भने झैँ’ असारे विकासले झन विनास निम्तिन सक्छ । यो तर्फ केन्द्र देखि स्थानीय सरकारले बेलैमा सोच्नुपर्ने भएपनि ‘बुझ पचाए झैँ गरिरहन्छन् ।’
तर यस्तो प्रवृत्तीलाई चिर्दै कर्णाली प्रदेशका केहि स्थानिय तहहरुले भने उदाहरण प्रस्तुत गरेका छन् ।कर्णालीका कतिपय स्थानीयतहले चैत्र महिनामै योजना निर्माण सम्पन्न गरिसकेका छन् । दैलेखको महावु गाउँपालिकाले चैत महिनामा नै चालु आर्थिक वर्षका भौतिक विकासका कामहरु सम्पन्न गरिसकेको छ ।
गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले केन्द्र र प्रदेश सरकारबाट आएका केही योजनाहरुको अख्तियारी ढिला आएको र कोरोना भित्रै परेकाले ओझेलमा परेको भएपनि गाउँपालिकाबाट हुने विकासे योजनाहरु समयमै सकिएको बताउनुभयो । पालिकाबाट सञ्चालन भएका योजनाहरुको भुक्तानी सम्पन्न गरेर आनन्दसंग बसेको जागरणलाई बताउनुभयो ।
कालिकोटको नरहरीनाथ गाउँपालिकाले पनि आफ्नो बजेट चैत महिनामै कार्यान्वयन गरी हाल प्रदेश र संघिय योजनाको ८० प्रतिशत काम सम्पन्न गरिसकेको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । जाजरकोटको बारेकोट गाउँपालिकाले पनि गाउँपालिकाबाट विनियोजित बजेटका योजना सम्पन्न गरिसकेको छ ।
केन्द्र र प्रदेश सरकार देखि आएका योजनाको काम केही सम्पन्न बाँकी रहेको भएपनि पालिकाको सबै योजनामा विनियोजित बजेट कार्यान्वयन भइसकेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।