आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौँ, ५ साउन (जागरण) । आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । सरकारले असार २६ गते नै छोटो दुरीको सवारी चलाउन दिने निर्णय गरेपनि यातायात व्यवसायी मानेका थिएनन् । मौद्रिक नीतिले उनीहरुको अधिकांश माग सम्बोधन गरेपछि यातायात व्यवसायीहरु गाडी चलाउन सहमत भएका हुन् ।
यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीले भोलिबाट यातायात सञ्चालन गर्ने बताएका छन् ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ लागू गर्न आग्रह गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले कोभिड १९ को महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारीसम्बन्धी सबै क्षेत्र प्रभावित भएको बताउँदै सार्वजनिक यातायात चलाउन र यस क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने बताउनुभएको हो ।