बुद्धीमान पुन ।
सल्यान ५ साउन (रेडियो राप्ती) । सल्यानमा आर्थिक बर्ष २०७६÷०७७ मा जिल्लाका बिभिन्न क्षेत्रहरुबाट गरेर २० वटा वन्यजन्तुको उद्धार गरिएको छ ।
डिभिजन वन कार्यालय सल्यानका अनुसार जिल्लाका शारदा नगरपालिका, सिद्धकुमाख गाउपालिका, त्रिबेणी गाउपालिका, कपुरकोट गाउपालिका लगाएतका बिभिन्न क्षेत्रहरुबाट जिल्लाभर बिभिन्न प्रजातीका २० वन्यजन्तुको उद्धार गरिएको हो ।
जसमा रतुवा १३ वटा, घोरल ५ वटा, हुंडार १ वटा र वन बिरालो १ वटा रहेको कार्यालयले जनाएको छ ।
उद्धार गरिएका मध्ये ११ वन्यजन्तुको उपचारको क्रममा मृत्यू भएको डिभिजनल वन अधिकृत रमेश कुमार गिरीले जानकारी दिनुभयो ।
जसमा हुंडार १ वटा, वन बिरालो १ वटा, रतुवा ८ वटा र घोरल १ वटाको उद्धार गरी उपचारको क्रममा मृत्यू भएको उहाँको भनाई छ । बाँकी रतुवा ५ र घोरल ४ वटाको उपचार पश्चात प्राकृतिक बासस्थानमा छोडिएको उहाँले जानकारी दिनुभयो ।
‘विशेषतः कतिपय वन्यजन्तु घाइते भएको अवस्थामा भेटिएकाले उपचार गरेर प्राकृतिक बासस्थानमा छोडिएको छ’ उहाँले भन्नुभयो ‘केही वन्यजन्तुहरुको भने उपचारको क्रममा मृत्यु भएको छ ।’ जंगलमा बासस्थानको अभाव, खडेरी, पानीको अभाव भएको समयमा वन्यजन्तु गाँउबस्तीमा देखिएको र स्थानिय नागरिकहरुबाट सुचना प्राप्त भएपछि ती वन्यजन्तुको उद्धार गरिएको उहाँको भनाई छ ।
‘खास गरेर जंगलमा पानीका मुहान सुक्नु, बन्यजन्तुको वातावरण अनुसारको व्यवस्थापन नहुनु, चोरी सिकारी हुनु जस्ता कारणले पनि वन्यजन्तु बस्तीतिर झरेको देखिन्छ’ उहाँले थप्नुभयो ‘ती बन्यजन्तुहरुको स्थानिय, वन उपभोक्ता समितीका पदाधिकारी, प्रहरी र वन कार्यालयको समन्वयमा उद्धार तथा उपचार गरि अनुकुल हुने प्राकृतिक बासस्थानमा छोड्ने गरिएको छ ।’