कर्णाली प्रवेश गर्नेलाई पिसिआर परिक्षणको रिपोर्ट चाहिने

सुर्खेत, २१ साउन (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रवेश गर्नेलाई पिसिआर परिक्षण गरिने बताउनुभएको छ ।
मंगलबार हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यम्नत्री शाहीले कर्णाली प्रदेश प्रवेश गर्नेहरुले अनिवार्य पिसिआर गरेको रिपोर्ट देखाउनुपर्नेगरी व्यवस्था गरिने बताउनुभएको हो ।
शाहीले कैलाली र पूर्वी तराईमा खतरनाक कोरोना भाइरस देखिएको बताउँदै ती क्षेत्रबाट कर्णाली प्रवेश गर्नेको अनिवार्य पीसीआर जाँच गरिएको कागज देखाउनुपर्ने व्यवस्था गर्न लागिएको बताउनुभयो ।
प्रदेशमा लक्षणसहितका कोरोना भाइरस संक्रमित देखिए कम्तीमा २५ दिन लकडाउन गरिने पनि उहाले जानकारी दिनुभयो ।
लकडाउनकै कारण कर्णाली कोरोना संक्रमणलाई भयाभह हुन नदिइएको भन्दै लक्षणसहितका संक्रमित देखिन थाले पुन लकडाउनमा जानुपर्ने अवस्था आउने जानकारी दिनुभयो ।
कोरोना संक्रमण रोकथामका लागि प्रदेशले पनि विकल्पसहितको योजना बनाइरहेको मुख्यमन्त्री शाहीको भनाइ छ । देशका अन्य प्रदेशमा लक्षणसहितको कोरोना संक्रमित बढ्दै गएमा कर्णालीले फेरि पनि नाका सिल गर्ने उहाले बताउनुभयो ।
उहाले सकेसम्म प्रदेशका १० वटै जिल्लामा अक्सिजन प्लान्ट राख्ने, त्यो सम्भव नभए केही जिल्लाहरुको सेन्टर पर्ने स्थानमा राख्ने बताउनुभएको छ ।
अहिले कर्णालीमा पिसीआर परीक्षण गर्ने प्रयोगशालाको कमी नभएको भन्दै शाहीले बरु किटको अभाव हुनसक्ने बताउनुभयो ।
सामाजिक विकास मन्त्री दल रावलले कर्णालीमा केही दिनभित्रै दैनिक २ हजार ५०० भन्दा बढी नागरिकको पीसीआर जाँच गरिने बताउनुभयो ।