सभा, गोष्टीहरु आयोजनामा रोक लगाउने सुर्खेत जिल्ला प्रशासनको निर्णय

सुर्खेत, २१ साउन (जागरण) । सुर्खेतमा कुनैपनि सभा, गोष्ठी, सेमिनार लगायत भिडभाड हुने कार्य नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
देशभर कोरोना संक्रमण बढ्दै गएको भन्दै यसको नियन्त्रणका लागि सभा, सम्मेलन तथा मानिसहरु जम्मा हुने क्रियाकलाप नगर्न आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतमा आज बसेको जिल्लास्तरीय विपद व्यवस्थापन केन्द्रको बैठकले अर्को सुचना जारी नभएसम्मको लागि भिडभाड हुने क्रियाकलाप नगर्ने निर्णय गरेको हो ।
केन्द्रको यो निर्णयले कृष्ण जन्माष्टमी, हरितालिका तीजलगायतका पर्वहरु पनि रोक्कामा परेका छन् ।
बढी भीडभाड हुने पर्व भएकोले आजबाट लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि सभा, गोष्ठी, सेमिनार, जात्रा, महोत्सवमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।
यस्तै कोरोना संक्रमण दर नघटेको कारण जोखिम रहिरहेकोले भारतलगायत अन्य मुलुकबाट आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राख्नको लागि प्रत्येक पालिकाले कम्तीमा एउटा क्वारेन्टाइन यथावत राख्ने र आउने व्यक्तिहरुको निगरानी बढाई व्यवस्थित अभिलेख राख्ने निर्णयपनि भएको छ ।